close

काठमाडौंका ठूला अस्पतालमा विभागको अनुगमन

काठमाडौंका ठूला अस्पतालमा विभागको अनुगमन

Trulli
ADVERTISEMENT

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका ठूला अस्पतालको अनुगमन गरेको छ ।

 

विभागले बिहीबार औषधी व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका ७ वटा ठूला अस्पतालको अनुगमन गरेको हो ।

 

उपलब्ध सेवा, शुल्कसमेतमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार बिहीबार मीनभवनमा रहेको सिभिल अस्पताल, चावहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।

 

अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पताललाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधी पर्याप्त नभएको पाइएको प्रवक्ता सेढाईंले बताए । 


७ वटा ठूला अस्पतालले त्यहाँ उपचाररत बिरामीका लागि प्रयोग गरेको औषधीको अधिक मूल्य ५१०० रुपैयाँ लिएको नपाइएको जनाइएको छ । रेम्डेसिभिर औषधीको न्यून उपलब्धता, वितरण पद्धति प्रभावकारी नहुँदा एउटा अस्पतालमा सञ्चित हुँदा अर्को अस्पतालमा अभाव देखिएको निष्कर्ष निकालिएको थियो ।

 

यस्तै, बिरामीको अनुपातमा उपलब्ध शय्या संख्या अपुग रहेको, अस्पतालमै तोकिएको स्वस्थ्य मापदण्ड पालना नभएको, अस्पतालपिच्छे उपलब्ध सेवा र शुल्कबीच असमानता रहेकोसमेत पाइएको थियो ।

 

अस्पतालको अनुगमनपछि विभागले छानबिनका लागि आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ । पछिल्लो समय निजी क्षेत्रको लगानीमा सञ्चालित अस्पतालले कोरोना भाइरस संक्रमणका बिरामीको उपचारमा चर्को शुल्क लिने गरेको गुनासोपछि विभागले विभिन्न निकायको समन्वयमा ७ वटा अस्पतालको अनुगमन गरेको हो ।

 

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै यही १६ वैशाखदेखि काठमाडौं उपत्यकाका ३ जिल्लामा लागू गरिएको निषेधाज्ञामा बजारमा अनुचित व्यापारिक कारोबारमा वृद्धि हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।