close

जलजलाका अध्यक्ष र उपाध्यक्षको गाडी एम्बुलेन्स बन्यो 

जलजलाका अध्यक्ष र उपाध्यक्षको गाडी एम्बुलेन्स बन्यो 

Trulli
ADVERTISEMENT

पर्वत- पर्वतको जलजला गाउँपालिकाले कोरोना संक्रमित बिरामी बोक्न अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालनमा ल्याएको छ । 

 

गाउँपालिकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि अध्यक्ष र उपाध्यक्ष पैदल हिँडेरै आफूले प्रयोग गर्ने सवारी बिरामीको प्रयोजनका लागि दिइएको हो ।

 

पालिकामा भएको एउटा मात्र एम्बुलेन्स नपुगेपछि आफूहरू चढ्दै आएको गाडीलाई बिरामीको सेवामा लगाएको गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले बताए ।     


अध्यक्ष मल्लले प्रयोग गर्ने बा२झ ४२२२ को स्कार्पियो र उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रयोग गर्ने ग१झ ४२२ नम्बरको बोलेरो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको हो । 

 

जलजलाभित्र कोरोना संक्रमणबाट अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ भने केहीको अवस्था गम्भीर छ । पालिकामा दोस्रो लहरमा ४५ जनामा कोरोना संक्रमण देखिएकामा सक्रिय संक्रमित ३५ जना रहेको अध्यक्ष मल्लले बताए । 

 

यीमध्ये २९ जना होम आइसोलेसनमा छन् भने ६ जना बाग्लुङ, पर्वत र म्याग्दीका अस्पतालमा उपचाररत छन् । जलजलामा गए रातीदेखि निषेधाज्ञा जारी गरिएको छ । 


नागरिकको ज्यान जोगाउन सबैभन्दा ठूलो दायित्व ठानेर आफूहरूले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको अध्यक्ष मल्लले बताए । जलजलाले यसअघि कोभिड-१९ संक्रमणका समस्यामा परेका नागरिकलाई तत्काल उद्धार गर्न फोकल पर्सनसमेत तोकिसकेको छ ।

 

यसबाहेक अध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मालगायतको टोलीले पालिका क्षेत्रमा सचेतनाका लागि माइकिङ, पर्चा-पम्प्लेट वितरण र स्थानीयका समस्या बुझ्दै घरदैलोसमेत गरिरहेको जलजलाका प्रवक्ता देविन्दबहादुर भण्डारीले जानकारी दिए । जलजलामा अक्सिजनसहितको २० बेडको कोरोना अस्पतालसमेत सञ्चालनमा आइसकेको छ ।