close

बेलकाका सामुदायिक वनमा सामूहिक बेसार खेती

बेलकाका सामुदायिक वनमा सामूहिक बेसार खेती

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको बेलका नगरपालिकाले ‘उत्पादनमा हाम्रो साथ, बस्दिनँ म खाली हात’ नारालाई सार्थक बनाउन सामुदायिक वनमा सामूहिक बेसार खेती अभियानलाई तीव्रता दिएको छ ।

 

बेलका नगरपालिका वडा नम्बर २ गलफडियामा अमरज्योति सामुदायिक वन र बेलकाको संयुक्त आयोजनामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले ४ बिघामा सामूहिक रूपमा बेसार खेती सुरु गरिएको हो ।


अमरज्योति सामुदायिक वन क्षेत्रभित्रका ७ सय ७५ घरधुरीमा ४० हजार बराबरको बिउ नगरको सहयोग र १ लाख ५० हजार रुपैयाँ सामुदायिक वनको लगानीमा सामूहिक बेसार खेती सुरु गरिएको हो ।


ढल्केबर–दुहबी ४ सय केभी हाइटेन्सन प्रसारण लाइन निर्माण गर्ने क्रममा सामुदायिक वन क्षेत्रका फडानी भएको जग्गामा सामूहिक बेसार खेती गरिँदै आएको छ । 


विद्युत् विस्तार गर्ने क्रममा सामुदायिक वन क्षेत्रमा हाइटेन्सन निर्माण गर्दा खाली भएको जग्गामा सामुदायिक वनको पहलमा सामूहिक बेसार खेती सुरु गरिएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए ।

 

सामुदायिक वनमा भएको कोषले पूर्वाधार विकासका साथै यसको विकासमा खर्च गर्ने गरेको अमरज्योति सामुदायिक वनका अध्यक्ष गणेशप्रसाद अधिकारीले जानकारी दिए । 


सामुदायिक वनको वार्षिक कार्यक्रमअन्तर्गत अति विपन्नलाई सहुलियत हुने खाले कार्यक्रम निःशुल्क विद्युत् मिटर वितरण, सडक स्तरोन्नति, सामुदायिक वनको भवन घेराबार, शौचालय निर्माण, वन डढेलो नियन्त्रणलगायत काम गर्दै आएको अध्यक्ष अधिकारीले बताए ।

 

नगरपालिका र समूहको संयुक्त लगानीमा गरिएको सामूहिक बेसार खेतीबाट प्राप्त हुने नगद आम्दानीको ४० प्रतिशत सामुदायिक वन र ६० प्रतिशत रकम गरिबी निवारणका लागि स्थानीय समूहलाई दिइने अध्यक्ष अधिकारीको भनाइ छ । ‘सामुदायिक वनले स्थानीय स्तरमा गरेको उदाहरणीय कामले स्थानीय स्तरको विकासमा टेवा पुग्नेछ’, बेलकाका नगरप्रमुख थापाले भने ।


‘नराखौँ जग्गा खाली, हरेक खाली जग्गामा लगाऔँ बाली’ नगरपालिकाको नारालाई साकार पार्न अमरज्योति सामुदायिक वनले काम थालेको बताउँदै नगर प्रमुख थापाले कृषिमा बेलकाले धेरै काम गरेको दाबी गरे ।

 

हरेक नागरिकलाई आत्मनिर्भर बनाउन कृषि पशुपालन, उद्यम विकासजस्ता क्षेत्रमा नगरपालिकाले लगानी गरेकाले हरेक नागरिकलाई त्यसको लाभ लिनसमेत नगरप्रमुख थापाले आग्रह गरे ।

 

कृषि खेतीमा उत्पादन र उत्पादकत्व बढाउन प्रत्येक वडामा कृषि प्राविधिक नियुक्त गरिएकाले खेती लगाउँदा परामर्श लिएर काम गर्न उनले सुझाए ।

 

सामुदायिक वनमा आबद्ध रहेका अतिविपन्न परिवारको सहभागितामा सुरु गरिएको सामूहिक खेतीले गरिबीको चपेटामा परेका नागरिकको जीवनस्तर उकासिन सहज हुने सबडिभिजन वन कार्यालय गलफडियाका वन अधिकृत विनोद साहको बुझाइ छ । 

 

सामूहिक रूपमा उत्पादित बेसारलाई प्रशोधन गर्न आवश्यक पर्ने उपकरणसमेत स्थानीय स्तरबाट माग भए बेलका नगरपालिकाले व्यवस्था गर्ने बेलका नगरपालिकाका कृषि इन्जिनियर बुद्धिनाथ तिम्सिनाले बताए ।

 

बेलकााले कृषिमा नागरिकलाई आत्मनिर्भर बनाउन विभिन्न खाले यन्त्र-उपकरण वितरण गर्दै आएकोसमेत इन्जिनियर तिम्सिनाले जानकारी दिए ।

 

नगरपालिकाले किसानलाई परम्परागत खेती प्रणालीभन्दा एकीकृत आधुनिक कृषि प्रणाली अपनाउन अनुरोध गरेको छ । बेलकामा चक्लाबन्दी खेतीसमेत सुरु गरिएको छ ।