close

गण्डकीमा मन्त्रिमण्डल विस्तार : नियुक्ति पाए, मन्त्रालय पाएनन्

गण्डकीमा मन्त्रिमण्डल विस्तार : नियुक्ति पाए, मन्त्रालय पाएनन्

Trulli
ADVERTISEMENT

कास्की– गण्डकी प्रदेश सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ जना मन्त्री थपेका हुन् । 

 

यसअघि नै मन्त्री रहेका अनुहारलाई निरन्तरता दिइएको छ । आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरुङ नियुक्त भएका छन् भने युवा तथा खेलकुदमन्त्रीमा राजीव गुरुङ उर्फ दीपक मनाङे छन् । 

 

अरू मन्त्रीहरूको कार्य विभाजन तोकिएको छैन । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिनाविभागीय मन्त्रीको सपथ लिए । 

 

यसअघि बस्नेत भौतिक पूर्वाधार विकासमन्त्री थिए भने लम्साल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र पुन सामाजिक विकासमन्त्री
थिइन् । मन्त्रालय फुटाउने भएकाले मन्त्रीहरूलाई कार्यविभाजन नतोकिएको मुख्यन्त्रीको सचिवालयले जनाएको छ । 

 

मनाङेबाहेकका मन्त्रीलाई बुधबार दिउँसो प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराइन् । मनाङे काठमाडौं रहेकाले उपस्थित भएनन् । 

 

सपथलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा मन्त्रालय थप्ने निर्णय गरेको छ । स्रोतका अनुसार ११ वटा मन्त्रालय बनाउन लागिएको छ । सुरुमा ७ मन्त्रालय रहेको गण्डकीमा १६ वैशाखमा सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुदमन्त्रीको जिम्मा दीपक मनाङेलाई दिइएको थियो ।
 

सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय छुट्टै बनाउन लागिएको छ । भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर २–२ वटा बनाइने भएको छ । 

 

मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा रामशरण बस्नेतलाई तोकेको छ भने प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरिधारी शर्मा र सदस्यमा विष्णुराज बराललाई नियुक्त गरेको छ । उनीहरूको नियुक्ति निरन्तरता नै हो । 

 

यसअघिकी अर्की सदस्य डा. भीमा ढुंगानाले भने राजीनामा दिएका कारण पुनः नियुक्त नभएकी हुन् । मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा सुन्दरबजारका डा. भीष्म अधिकारी नियुक्त भएका छन् ।

 

यसअघि गोविन्द नेपाली राजनीतिक सल्लाहकार थिए । उनलाई जिम्मेवारीबाट मुक्त गरेर अधिकारीलाई दिइएको हो । मन्त्रिपरिषद्को बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोभिड उपचार बनाउन संघ सरकारसँग सिफारिस गरेको छ । मुख्यमन्त्री गुरुङले आफू नियुक्त भएकै दिन कोभिड उपचार कोषमा ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

 

कोभिड उपचारमा सहज होस् भनेर स्वास्थ्य मन्त्रालय छुट्टै बनाउन लागिएको प्रवक्ता रामशरण बस्नेतले बताए । 

 

विपक्षीले अविश्वास दर्ता गराएपछि राजीनामा दिएका गुरुङ पुनः २९ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । स्वास्थ्य समस्याका कारण १ सातासम्म मन्त्रिमण्डल विस्तार हुन पाएको थिएन । अहिले सहज भएपछि मन्त्रिमण्डल विस्तार गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।