close

याम्पाफाँटका किसानका दुःख : दूध बेचेर नौनी किन्नैपर्ने बाध्यता 

याम्पाफाँटका किसानका दुःख : दूध बेचेर नौनी किन्नैपर्ने बाध्यता 

Trulli
ADVERTISEMENT

तनहुँ– पृथ्वी राजमार्ग छेउ रहेको दूध संकलन केन्द्रमा १ जना महिलाले दूध ल्याएर खन्याउँछिन् । संकलन केन्द्रका कर्मचारीले भित्रबाट ३ वटा नौनीका पोका उनको हातमा थमाइदिन्छन् । 

 

बाहिरतिर दूध खन्याउँदै गरेका अर्का युवा आफूलाई दूधको पैसा नै चाहिन्छ भनेर ठूलो आवाजमा चिच्याइरहेको देखिन्छ । यसैगरी अरूहरू पनि आउँछन्, दूध खन्याउँछन् । फर्कंदा दूुध ल्याएको रित्तो भाँडोको साथमा केही किसान नौनीको पोका लिएर जान्छन् ।

 

साँझ ७ बजेपछि बन्दीपुर वडा नम्बर ५ याम्पाफाँटस्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाको दूध संकलन केन्द्रमा केही बेर यो दृश्य चलिरहन्छ । 

 

यहाँका किसानले सहकारीमा संकलन गरेको दूध पोखराको सुजल डेरीले लैजान्छ । त्यही सुजल डेरीमा उत्पादित नौनी किसानलाई दिइएको हो । किसानका लागि नौनी लैजानु आवश्यकता नभएर बाध्यता हो । किसानले उत्पादन गरेको दूधको मूल्य प्रतिलिटर ५५ रुपैयाँ छ । त्यही दूधबाट उत्पादन गरेको नौनी प्रतिकिलो ७९८ रुपैयाँमा किसानले किन्छन् ।

 

याम्पामा उत्पादित दूध उठाउने सुजल डेरीले मिल्क होलिडे गर्छौं भनेपछि त्यहीको नौनी किसानलाई बाँडेको याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल तिवारीले बताए । यसो गर्दा मिल्क होलिडेको सामना गर्नु नपर्ने र किसानले लाखौँको क्षति बहोर्नुपर्ने नपर्ने उनको दाबी छ ।

 

उनी भन्छन्, ‘नौनी स्टक गरेर राख्ने कोल्डस्टोर नपुगेकाले तपाईंहरूले नै विकल्प खोजदिनुभयो भने मिल्क होलिडे गर्नुपर्दैन भनेपछि कम्पनीसँग समन्वय गरेर सहकारीले किसानको घरघरमा नौनी वितरण ग¥यौँ । उनीहरूले पाउडर पनि लैजान थालिसकेका छन् । बरु सामान फिर्ता गर्न सक्छौँ, पैसा दिन सक्दैनौँ भनेको स्थिति छ ।’ 

 

सहकारीमा ११० बढी किसान आबद्ध छन् । दैनिक ४ हजार लिटर हाराहारी सहकारीको संकलन केन्द्रमा दूध संकलन हुन्छ । गत वर्ष कोरोनाको संक्रमण रोक्न लकडाउन भएदेखि कम्पनीले नियमित दूधको भुक्तानी सहकारीलाई दिन सकेको छैन । 

 

२ करोड रुपैयाँ बढी सुजल कम्पनीसँग दूधको भुक्तानी लिन बाँकी रहेको अध्यक्ष तिवारीले जानकारी दिए । कम्पनीबाट नियिमत पैसा नआउँदा सहकारीले पनि किसानलाई पुसदेखिको भुक्तानी नगरेको उनले बताए । 

 

सहकारीले पुसदेखीको दुधको रकम किसानलाई भुक्तानी गर्न नसके पनि घर–घरमै दानाचोकर, औषधी, भ्याक्सिन र प्राविधिकको व्यवस्थापन भने गरिरहेको तिवारी बताउँछन् । 

 

कोरोनाको कारण दूध र त्यसबाट उत्पादित पदार्थको बिक्री नभएकाले नियमित भुक्तानी दिन नसकिएको सुजल डेरीको दूध खरिदतर्फका कर्मचारी गुरु पौडेलले बताए । नौनी स्टक राख्ने ठाउँसमेत अभाव रहेको उनको भनाइ छ ।

 

‘नौनी राख्ने ठाउँ नभएर सहकारीबाट दूध उठाउन गाह्रो भए पनि किसानलाई घ्यू लगेर तेलको सट्टा प्रयोग गर्नुस् भन्नुपर्ने अवस्था छ’, उनले भने, ‘केही दिनपछि यही उठिरहेको दूध पनि बन्द हुने सम्भावना छ ।’ 

 

मिल्क होलिडे नगरी किसानलाई बचाउन कम्पनीले जोखिम मोलेको उनको दाबी छ । प्रदेश सरकारसँग सहकार्य गरेर किसानलाई बचाउन कम्पनी प्रयासरत रहेको पौडेलले सुनाए । लामो समयदेखि दुधको रकम नपाएका व्यावसायिक किसान पेसाबाट पलायन हुने अवस्थामा पुगेका छन् । त्यही दुध बेचेर घर खर्च चलाउने किसानलाई धौ–धौ भएको छ ।

 

दूध बेचेर घर खर्च चलाउँदै आएकामा भुक्तानी नपाउँदा याम्पाका किसान मर्कामा परेको विष्णुप्रसाद अम्गाईले बताए । ‘किसान कसरी बच्ने र गाईवस्तु कसरी बचाउने चुनौती छ’, उनले भने । किसानले भुक्तानी नपाउनुको पीडा एकातिर छ । तर, अहिलेको महामारीका बेला सुजल डेरीले किसाबाट उत्पादित दूध मात्रै उठाइदिएर फाल्नुपर्ने स्थिति रहेन भने तत्कालको समस्या हल हुने वडाध्यक्ष धु्रवप्रसाद लामिछाने बताउँछन् ।

 

याम्पाफाँट दूध र तरकारी उत्पादनमा जिल्लामै अगाडि छ । हरेक घर पशुपालन र तरकारी खेतीमा आश्रित छन् । उचित बजार मूल्य नपाउने, पाएको मूल्य पनि बेलामै भुक्तानी नहुने समस्याले किसानमा कृषि र पशुपालनप्रतिको मोह घट्दो छ । बजार व्यवस्थापन र उचित मुल्य निर्धारणका लागी ३ वटै तहका सरकारले सहयोग नगरेको स्थानीय किसानको गुनासो छ ।

 

वडाध्यक्ष लामिछाने दूध उत्पादक किसानलाई गाउँपालिकाले सघाइरहेको दाबी गर्छन् । ‘अघिल्लो वर्षदेखि १ रुपैयाँ प्रतिलिटर दूधको अनुदान कार्यक्रम सुरु गरेका थियौँ । यसलाई अलि बढाउनुपर्ने अवस्था थियो । कोभिड नियन्त्रणमा धेरै खर्च हुने भएर यो अनुदान २ रुपैयाँमा लग्नलाई धेरै पहल गर्दागर्दै पनि सकिएन’, उनले भने ।