close

वडा तहमै कोरोनाका शंकास्पद पहिचान गर्दै कपुरकोट

वडा तहमै कोरोनाका शंकास्पद पहिचान गर्दै कपुरकोट

Trulli
ADVERTISEMENT

सल्यान- सल्यानको कपुरकोटमा कोरोरा रोकथाम, नियन्त्रण तथा उपचारका लागि वडा स्तरमा समीक्षा सुरु भएको छ ।

 

कोरोना भाइरसको दोस्रो लहर समुदाय स्तरमै फैलिइसकेकाले यसको नियन्त्रणका लागि वडा तहमा छलफल चलाउन थालिएको हो । 


गाउँपालिका अध्यक्ष भीमबहादुर सेन, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का स्वास्थ्यकर्मीसहित वडा नम्बर ३ र ४ मा पुगेर वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयमसेविकासँग छलफल गरे ।

 

वडा नम्बर ४ मा वडाध्यक्ष हरिलाल पुनको अध्यक्षतामा भएको बैठकमा कोभिडसँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको खोजी गरी तत्काल एन्टिजेन परीक्षण गर्ने, जटिल स्वास्थ्य समस्या भएकालाई गाउँपालिकाको कोभिड अस्पतालमा भर्ना गरेर उपचार गर्नेलगायत निर्णय भएको स्वास्थ्य शाखाका सिनियर अहेब सुवास हमालले जानकारी दिए । 

 

वडा नम्बर ३ का वडाध्यक्ष मीनबहादुर सेनको अध्यक्षतामा भएको बैठकमा पनि कोरोना रोकथाम तथा संक्रमितको प्रभावकारी उपचार र थप संक्रमण फैलन नदिन बस्ती स्तरमा सचेतना फैलाउने निर्णय भएको हमालले जनाए । 

 

मंगलबार वडा नम्बर ५ र ६ तथा बुधबार १ र २ मा छलफल तथा समीक्षा गरिने स्वास्थ्य शाखाले जनाएको छ । 

 

वडा स्तरमा पुगेका अध्यक्ष सेनले परीक्षण र सचेतनाका कार्यक्रम निरन्तर चलिरहेको बताए । जटिल समस्या देखिएका संक्रमितलाई कोभिड अस्थायी अस्पतालमा राखेर उपचारका लागि नेरा मावि किमुचौरमा अक्सिजनसहित ५ बेडको आइसोलेसन निर्माण गरिएको उनको भनाइ छ ।


हाललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको र थप २ वटा अक्सिजन कन्सन्ट्रेटर तथा अक्सिजन सिलिन्डरको पनि व्यवस्था गरिने उनले बताए । 

 

वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका तथा बुद्धिजीवीलाई अध्यक्ष सेनले गाउँ-गाउँमा कोभिडसँग मिल्ने लक्षण भएका बिरामीको खोजी गर्न, पालिकामा खबर गर्न र परीक्षण तथा उपचारको दायरामा ल्याउन सक्रियतापूर्वक भूमिका खेल्न आग्रह गरे ।

 

८ को मृत्यु, १०८१ को परीक्षण

कपुरकोटमा कोरोना संक्रमित ८ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमध्ये ५ जना पुरुष र ३ जना महिला छन् ।

 

हाल गाउँपालिकामा १२ पुरुष र ९ महिला गरी २१ जना सक्रिय संक्रमित रहेको पालिकाका कोभिड-१९ फोकल पर्सन देवेन्द्रकुमार सेनले बताए । 

 

२०७७ साउनयता कपुरकोट गाउँपालिकाले पिसिआर र एन्टिजेन गरी जम्मा १०८१ को परीक्षण गरिएकामा १८२ जनामा संक्रमण फेला परेको फोकल पर्सन सेनले जानकारी दिए ।

 

कपुरकोट गाउँपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा ६२८५ जनाको स्क्रिनिङ गरिएको उनको भनाइ छ ।