close

अन्न र मास्क बोकेर जनताको दैलोमा सांसद 

अन्न र मास्क बोकेर जनताको दैलोमा सांसद 

Trulli
ADVERTISEMENT

कास्की- कोरोना संक्रमणले यसपालि हिमाल पनि छोयो । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङ पनि नराम्रोसँग थलिए । मुस्ताङमा मात्रै १६८ संक्रमित भए । त्यसमध्ये १२८ जना निको भइसकेका छन् भने २० जना उपचाररत छन् । १० जनाको मृत्यु संक्रमणकै कारण भयो ।

 

स्वास्थ्य सुविधा खासै राम्रो छैन । संक्रमणले अलि गलाउन थाल्यो भने हेलिकोप्टर चार्टर गरेरै पोखरा र काठमाडौं पुर्‍याउनुपर्छ । हिमाली जिल्लामा उत्पादन पनि खासै हुँदैन । आलु, फापर, जौजस्ता अन्नबालीले लामो समयको माग धान्न सक्दैन । चामल र अन्य खाद्यान्न उनीहरूले बजारबाटै बेसाउनुपर्छ । 


कोरोनापछिको अवस्था झन्–झन् जटिल बन्दै छ । उत्पादन छैन, रोजगारी पनि छैन । मुस्ताङी विपन्न गाउँलेलाई भोकको चिन्ता बढेको छ । हिउँदको समय बेँसी झर्दा जिम्मु र सोभनियर सामान बेचेर वर्षभरिको खाद्यान्न जुटाउने उनीहरूको गएको हिउँदको व्यापार छुट्यो ।

 

पैसा नभएकाले किनेर खान सकेनन् । विपन्न परिवार झनै मारमा परेका छन् । जनताको दुःख देख्न नसकेर सांसद इन्द्रधारा विष्टले जिल्लाका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

 

तल्लो मुस्ताङको थासाङ गाउँपालिकामा २३० र घरपझोङ गाउँपालिकाका २०० परिवारलाई उनले चामल, नुन, तेललगायत खानेकुरा र मास्क सहयोग गरेका हुन् । यसबाहेक छैँरोस्थित तिब्बती शरणार्थी क्याम्पका ५२ परिवारलाई सामान सहयोग गरे । उनी आफैं जिल्ला पुगेर खाद्य सामग्री सहयोग गरेका हुन् ।

 

पोखरामा रहेको पेमा छाल शाक्य गुम्बाका लामा गुरु खेन्पो कुङगा धोन्डुप गुरुङ, म्यानेजर टासी वाङगेल विष्ट र प्राध्यापक ङावाङ टासी गुरुङले सामान सहयोग गरेका थिए । त्यसको संयोजन सांसद विष्टले गरे । 

 

प्रत्येक परिवारलाई २५ किलो चामल, १ लिटर तेल, १ किलो नुन, एउटा डिटोल साबुन र ५ वटा सर्जिकल मास्क वितरण गरिएको विष्टले जानकारी दिए । अहिले मुस्ताङका ४८२ परिवारलाई सहयोग गरेकामा तुरुन्तै ३ वटा गाउँपालिकाका अरू विपन्नलाई पनि सहयोग गरिने उनले सुनाए । 

 

‘हिमाली क्षेत्रमा उत्पादन हुँदैन । खानेकुरा तलैबाट लैजानुपर्छ । यस्तो बेला मान्छेसँग सामान किन्ने पैसा छैन’, उनले भने, ‘नागरिक भोकै बस्नुपर्ने अवस्था छ । गाह्रो परेका बेला हामीले नै सहयोग गर्नुपर्छ ।’

 

आफ्नो निर्वाचन क्षेत्र माथिल्लो मुस्ताङ भए पनि मानवीयताको हिसाबले सहयोग गरेको विष्ट बताउँछन् । ‘निर्वाचन क्षेत्र हेरेर हुँदैन । जहाँ गाह्रो छ, त्यहाँ सहयोग गर्छु’, उनले भने, ‘यो चामलले केही महिनाको गर्जो टर्छ ।’

 

शनिबार र आइतबार २ वटा गाउँपालिकाका पूरै गाउँ डुलेर उनले सहयोग हस्तान्तरण गरेका हुन् । दलित र विपन्न परिवारलाई राहत उपलब्ध गराएको उनले बताए ।

 

‘वडालाई जिम्मा दिएको छु । वडाले नै विपन्नको अवस्था हेरेर हस्तान्तरण गर्छ’, उनी भन्छन्, ‘यस्तो बेला अरूले पनि मानवीयता देखाउनुपर्छ । समस्या पर्दा हातेमालो गर्नुपर्छ ।’

 

विष्ट अरू समयमा पनि सामाजिक सेवामा निकै खटिन्छन् । अघिल्लो वर्षको लकडाउनमा मार्फाको पूरै साग किनेर पोखरामा निःशुल्क वितरण गरिदिएका थिए । यो वर्षको निषेधाज्ञा सुरु भएदेखि नै उनले ठाउ–ँठाउँमा चामल, तेल, नुनलगायत खाद्य सामग्री सहयोग गरिरहेका छन् । 

 

दुलेगौँडास्थित तित्बती शरणार्थी शिविर र छोसेर क्याम्प, पोखरा वृद्धाश्रम, फेवातालमा डुंगा चलाएर जीवन धान्नेलाई पनि सहयोग गरेका छन् ।