close

पञ्चेश्वरले बल्ल पायो कर्मचारी (भिडियो खबर)

पञ्चेश्वरले बल्ल पायो कर्मचारी (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- २०७४ मा स्थानीय तहको निर्वाचन भयो । निर्वाचन भएसँगै स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कर्मचारी समायोजन गर्ने जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काँधमा आइपुग्यो । तर, कर्मचारी समायोजनमा जान चाहेनन् । केहीले त स्वेच्छिक अवकाश रोजे । केहीले समायोजनमा नराख्दिन पहल गर्दै मन्त्रालय धाए । केहीले विकटमा सरुवा नगर्न लबिङ नै गरे । पालिकामा गएकाले पनि सेवा नदिने समस्या उस्तै रह्यो । तर, बैतडीको पञ्चेश्वर गाउँपालिकामा भने कर्मचारीको अभाव पूर्ति कहिल्यै भएन ।

 

हरेक वर्ष कर्मचारीको अभावका कारण पालिकाले सही ढंगले काम गर्न सकेन । अहिले पनि पालिकाका जनप्रतिनिधि कर्मचारी खोज्दै भौतारिरहेका छन् । मन्त्रालयले पनि लामो समयपछि केही महिनाका लागि मात्रै कर्मचारी पदपूर्ति गरेको छ । बैतडीको विकट क्षेत्रमा पर्ने गाउँपालिका हो, पञ्चेश्वर । अन्य पालिका कोरोनासँग लडिरहँदा गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द भने काठमाडौंमा थिए । महामारीसँग उनी भागेका होइनन् उनी त पालिकामा कर्मचारी पठाइदिन माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगे । निवेदन दिए । तर, उनको माग कतै सुनुवाई भएन ।

 

कर्मचारी नियुक्त गर्न नसकेपछि उनी पालिका फर्किए । तर, पनि अन्तिम प्रयास स्वरुप भन्दै उनी अहिले सदरमुकाम पुगेका छन् । पालिकाबाट सदरमुकामको यात्रा पनि टाढा छ । उनी सदरमुकाम प्रमुख जिल्ला अधिकारी भेट्न पुगेका हुन् । यसअघि पनि उनले आफ्नो समस्या पत्रकार सम्मेलन गरेर पनि सुनाउने गरेका थिए । गाउँपालिकामा कर्मचारी नभएको विषयमा प्रमुख जिल्ला अधिकारी जानकार नै छन् । अध्यक्षलाई उनले आफूले पहल गरिरहेको दिलाशा दिन बाहेक केही गर्न सकेका छैनन् । 

 

पञ्चेश्वरले अहिले आर्थिक वर्षको अन्तिममा मजदुरलाई कामको भुक्तानी दिन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा उत्पन्न यो परिस्थिति समाधान हुने अपेक्षा गरिएको भएपनि हुन नसक्नुको कारणबारे अध्यक्ष आफै जानकार छैनन् । पञ्चेश्वरमा अहिले एकै कर्मचारीले तीन देखि चार वटा फाँट हेर्नु परेको छ । एकै वडा सचिवले ३ वडाको काम गर्नुपरेको छ । अन्य कर्मचारीको जोहो जसो तसो भएपनि रकम भुक्तानी गर्ने मुख्य कर्मचारी हाकिम र लेखापाल नहुँदा समस्या भएको छ ।

 

पटकपटक मन्त्रालयलाई कर्मचारी मिलान गरिदिन पत्र पठाएपनि मन्त्रालयले नसुनेको गुनासो अध्यक्षको छ । तर, मन्त्रालयले भने तीन महिनाका लागि कर्मचारी पठाएको छ । निकै लामो संघर्षपछि तीन महिनाकै लागि भएपनि कर्मचारी पुगेका छन् । यसले केही राहत त पालिकालाई दिएको छ । तर, छोटो अवधिका लागि कर्मचारी दरबन्दी भएपनि तीन महिनापछि उस्तै अवस्थामा फर्कनुपर्ने चिन्ताले अध्यक्षलाई सताइरहेको छ । 

 

अहिले पालिकाका इन्जिनियरलाई निमित्त प्रमुखको जिम्मा दिइएको छ । निमित्त हाकिमको व्यवस्था त भयो तर लेखापालको टुंगो अझै लागको छैन । एक महिनापछि अवकाश पाउन लागेका दशरथचन्द नगरपालिकामा कार्यरत १ कर्मचारीलाई लेखाको जिम्मा लगाएपनि उनी पञ्चेस्वर गाउँपालिकामा जाँदैनन् ।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृतले  गाउँपालिकामा चेक तयार गरेर ल्याएपछि सदरमुकाममा मुस्किलले दस्तखत गरिदिन्छन् । यसरी सम्पन्न भएका योजनाको भुक्तानी भएको छैन । तर, तीन महिनाका लागि अब कर्मचारी पुगेपछि केही समयका लागि आवश्यकता टरेको छ । तर, सधैँका लागि होइन । त्यसैले सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ ।