close

६० रुपैयाँको फलफूल खेतीले बनायो लखपति

६० रुपैयाँको फलफूल खेतीले बनायो लखपति

Trulli
ADVERTISEMENT

उदयपुर- १५ वर्षअघि ६० रुपैयाँको लगानी गरेर रौतामाई गाउँपालिका वडा नम्बर ४ सल्लेका ५७ वर्षीय टेकबहादुर पाठकले यतिबेला वार्षिक ४ लाखसम्म आम्दानी लिँदै आएका छन् । मिहिनेत र आत्मविश्वासकै कारण फलफूल खेतीबाटै टेकबहादुरको जिन्दगी फेरिएको छ । सोही कारण उनलाई २-४ पैसा खेलाउन कसैको मुख हेर्नुपर्दैन ।

 

‘बाबुबाजेले नपढेर सयौँ रोपनी जमिनमा खेती गर्थे रे’, उनले विगत सम्झिए, ‘त्यसैले नपढे पनि केही गरौँ भन्ने लागेर १५ वर्षअघि आफूसँग भएको जम्मा ६० रुपैयाँलाई लगानीको रूपमा होटल व्यवसायमा हालेँ । त्यसको ६ महिनापछि फलफूल खेती सुरु गरेँ ।’ 

 

‘क’ अक्षरसमेत नचिनेका पाठकले १५ रोपनी जग्गामा फलफूलको नर्सरी सुरु गरे । सुन्तला खेती नर्सरी सुरु गरेका उनले नमुनाका लागि स्याउ, अनार, अंगुर, नासपाती, कागती र रुद्राक्ष पनि त्यही ठाउँमा लगाए ।

 

‘सुरुमा सुन्तला मात्रै खेती गर्ने सोचमा थिएँ’, टेकबहादुरले भने, ‘तर खेती नै गर्ने भएपछि किन सुन्तला मात्रै । त्यसैले स्याउ, अनार, अंगुर नासपाती, रुद्राक्ष र कागती पनि रोप्न थालेँ ।’

 

सुरुका केही वर्ष फलफूलले आम्दानी नदिने भएकाले खर्च धान्नैका लागि टमाटर, काउली, धनियाँ, चुच्चे करेलालगायत खेती गरेको उनले बताए । १५ वर्षअघि ८ रोपनीबाट खेती सुरु गरेका पाठकको अहिले १५ रोपनी क्षेत्रफलमा विभिन्न जातका फलफूल खेतीसँगै नर्सरी छ ।

 

‘खेती सुरु गरेको ६÷७ वर्षसम्म फलफूलबाट खासै आम्दानी भएन’, पाठकले भने, ‘तर ५ वर्षयता वार्षिक ४ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ । आउँदो वर्ष वार्षिक ५ लाख रुपैयाँ बढी आम्दानी लिने लक्ष्य छ ।’

 

रौतामाई गाउँपालिका जिल्लाकै सुन्तला उत्पादनका लागि राम्रो क्षेत्र मानिन्छ । त्यसैले पनि अहिले पाठकले सुन्तलाको नर्सरीलाई प्राथमिकतामा राखेका छन् । फलफूलभन्दा नर्सरीबाट आम्दानी बढी हुने भएकाले सुन्तलाको नर्सरी सुरु गरेको उनले बताए । 

 

पाठकको नर्सरीमा अहिले २० हजार बढी सुन्तलाका बिरुवा तयार छन् । प्रतिगोटा ५० देखि ६० रुपैयाँका दरले बिक्री गरिने सुन्तलाका बिरुवाबाट ३ लाख ५० हजार रुपैयाँ आम्दानी हुने पाठकको अनुमान छ । 

 

उनको नर्सरीमा सुन्तलासँगै कागती, अनार, रुद्राक्ष र अन्य फलफूलका समेत बिरुवा छन् । ‘सुरु-सुरुमा बिरुवा उत्पादन कसरी गर्ने भन्ने समस्या थियो,’ पाठकले भने, ‘तर सामान्य तालिम लिएपछि अहिले बिरुवा उत्पादन मात्रै होइन, सुन्तलाको बोटमा कागती, कागतीको बोटमा सुन्तला वा दुवै एउटै बोटमा समेत फलाउन सक्छु ।’

 

फलफूलबाट दीर्घकालीन रूपमा आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने विश्वासले खेती गरेको पाठकले सुनाए । ‘दिगो आर्थिक विकासका लागि फलफूल खेती गर्न अन्य किसानलाई पनि सम्झाउँदै आएको छु’, उनले भने, ‘त्यसैले अहिले धेरै किसान साथीले सुन्तला, जुनार, नासपाती र स्याउ खेती गरिरहेका छन् । अन्य किसान आफूले देखाएको बाटोमा लागेको देख्दा खुसी छु ।’

 

पाठक फलफूल खेती गर्नुअघि होटल चलाउँथे । २ छोरा, १ छोरी र पत्नीको सहयोगमा होटल चलाउँदै आएका उनले त्यसलाई छाडेर फलफूल खेती सुरु गरेका हुन् । उनले दैनिक ज्याला मजदुरी गरेर जम्मा गरेको ६० रुपैयाँले २०४८ बाट सल्लेमा होटल चलाउन थालेका थिए ।