close

बेलका नगरप्रमुख भन्छन्ः कबुलियती वन बनाउने निर्णय मेरो होइन, म भागेको पनि छैन 

बेलका नगरप्रमुख भन्छन्ः कबुलियती वन बनाउने निर्णय मेरो होइन, म भागेको पनि छैन 

Trulli
ADVERTISEMENT

उदयपुर- बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले आफूले कबुलियती वन बनाउने भनेर सिफारिस नगरेको दाबी गरेका छन् । सरकारले उदयपुरको बेलका नगरपालिकास्थित कोशी टप्पु क्षेत्रलाई कबुलियती वन बनाई व्यक्तिलाई ३० वर्ष लिजमा दिने निर्णय गरेपछि त्यहाँका स्थानीय आन्दोलित छन् ।  

 

गत ६ जेठमा मन्त्रिपरिषद्को बैठकले नगरपालिकाको वडा नम्बर ३ स्थित पौरखी सामुदायिक वन क्षेत्रसँग जोडिएको कोशी नदीको उकास रहेको राष्ट्रिय वनसमेत समेटेर १७५.२३ हेक्टर क्षेत्र दुई निजी कम्पनीलाई ३० वर्ष लिजमा दिने निर्णय गरेको थियो । कुल १७५.२३ हेक्टरमध्ये १२५ हेक्टर सेफ वे टेक्नोलोजी ललितपुरले र बाँकी बराह हर्वल एण्ड एग्रो प्रालिले पाएको छ ।


कबुलियती वन बनाउँदा सयौं परिवार विस्थापित हुने भन्दै सरकारले गरेको निर्णय फिर्ता गर्नुपर्ने मागसहित गत १५ दिनदेखि स्थानीय आन्दोलनरत छन् । वन बनाउने भनिएको क्षेत्रमा विगत ४० वर्षदेखि मानिसहरू बसोबास गर्दै आएका छन् । अहिले पनि त्यहाँ झन्डै ८ सय घरधुरी रहेको स्थानीय बताउँछन् ।


थापाले नगरपालिका पहिल्यैदेखि नै कबुलियती वन बनाउने निर्णयविरूद्ध रहेको भन्दै आफूले त्यो काम नगरेको जिकिर गरे । स्थानीयवासीले नगरप्रमुख भागेको भन्दै अफवाह फैलाएको भन्दै थापाले आफु नगरपालिकामै रहेको र समस्यासमाधानमा लागि परेको बताएका छन् । 


‘म आफैं पहिल्यैदेखि कबुलियत वन बनाउनु हुँदैन भनेर आवाज उठाउँदै आएको छु गत असार १० गतेको नगरसभाले पनि केन्द्र सरकारको निर्णय फिर्ता गर्न माग राख्ने निर्णय गरेको छ,’ थापाले पािलकाखबरसँग भने, म समस्या समाधानमा लागिरहेका बेला भागेको हल्ला चलाए, यो निराधार हो, समस्या समाधानमा लागिपरेको छु ।’

 

कबुलियत वन बनाउने निर्णय जिल्ला डिभिजन वन कार्यालय र प्रदेश-१ क्षेत्रीय वन कार्यालयको सिफारिसमा सरकारले निर्णय गरेको भन्दै त्यसमा नगरपालिकाले कुनै निर्णय नगरेको बताए ।