close

दिप्रुङमा वडा विभाजनको मतदान : टेम्मा टुक्रिने, बतासे यथावत् 

दिप्रुङमा वडा विभाजनको मतदान : टेम्मा टुक्रिने, बतासे यथावत् 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको २ वटा वडा विभाजनका लागि मतदान भएको छ । वडा नम्बर ४ बतासे र वडा नम्बर ७ टेम्मा विभाजनका लागि गत १० असारको गाउँसभामा पेस भएको प्रस्तावअनुसार आइतबार मतदान भएको हो ।

 

गाउँसभाको कुल सदस्य संख्या ३४ मध्ये टेम्मालाई विभाजन गर्ने पक्षमा ३४ मत खसेको छ । त्यसको विपक्ष र तटस्थमा कुनै पनि मत नखसेको गाउँपालिकाले जनाएको छ । 

 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५ र ६ मा भएको व्यवस्थाअनुसार साविकको टेम्मा वडा नम्बर ३, ५, ६ र ९ लाई समेटेर एउटा वडा र साविकको टेम्मा वडा नम्बर १, २, ४, ७ र ८ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव पेस भएको थियो । 

 

गाउँसभाले टेम्मा विभाजन गर्न प्रदेशमा सिफारिसका लागि अनुमोदन गरेको छ । विभाजनका पक्षमा बहुमत खसेको मतका आधारमा अब टेम्मालाई औपचारिक रूपमा विभाजनका लागि बाटो खुलेको छ । 

 

यस्तै, बतासेलाई विभाजन गर्नुपर्ने पक्षमा १५ र विपक्षमा १९ मत खसेको छ । तटस्थमा भने मत खसेन । बतासेलाई साविकको बतासे वडा नम्बर १, २, ३ र ४ लाई समेटेर एउटा वडा तथा साविकको बतासे वडा नम्बर ५, ६, ७, ८ र ९ लाई समेटेर अर्को वडा बनाउन प्रस्ताव गरिएको थियो । 

 

बहुमत नपुगेकाले बतासेलाई विभाजन गर्ने प्रस्ताव गाउँसभाबाट अस्वीकृत भएको छ । टेम्मा विभाजन भएसँगै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ८ वटा वडा
हुनेछन् । 

 

वडाको संख्या वा सीमा हेरफेर गर्न आवश्यक भए गाउँसभा वा नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकारसमक्ष पठाउनुपर्ने व्यवस्था छ । प्राप्त प्रस्तावलाई नेपाल सरकारले ६ महिनाभित्र प्रस्तावबमोजिम वडाको संख्या वा सिमाना हेरफेर गर्ने व्यवस्था छ ।