close

त्रियुगा नगर: क्लिन, ग्रिन हुँदै अब अक्सिजन सिटी

त्रियुगा नगर: क्लिन, ग्रिन हुँदै अब अक्सिजन सिटी

Trulli
ADVERTISEMENT

उदयपुर-  उदयपुरको त्रियुगा नगरपालिका क्लिन सिटी, ग्रिन सिटी सहर निर्माण अभियानमा जुटेको छ । त्रियुगा नगरपालिकालाई सफा र हरियालीयुक्त सहर बनाउन बिरुवा रोपण अभियान थालेको हो । त्रियुगालाई स्वच्छ, सफा, स्वस्थ र हरियालीयुक्त सहर बनाउन क्लिन सिटी, ग्रिन सिटीको नारासहित सामूहिक सहभागितामा विभिन्न जातका हजारौँ बिरुवा रोपेर अभियान थालनी गरिएको हो । 


सदरमुकाम गाईघाट बजारसमेत रहेको त्रियुगालाई सफा र हरित नगर बनाउने अभियानका क्रममा १६ वटै वडामा बिरुवा रोपण कार्यक्रम गरिएको नगरप्रमुख बलदेव चौधरीले जानकारी दिए ।

 

मदन भण्डारी लोकमार्गसँगै जोडिएको त्रियुगा नगरपालिका वडा नम्बर १३ को बरुवा पुलनजिकै पूर्व-पश्चिम बरुवा बसपार्कमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत जनप्रतिनिधि र नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी, कर्मचारी सम्मिलित टोलीले सामूहिक बिरुवा रोप्दै अभियान सुरु गरेको हो ।

 

बसपार्क क्षेत्रको खाली जमिनमा नगर प्रमुख चौधरी, उपप्रमुख देवीकुमारी चौधरी, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) सुवासचन्द्र बोहरा, सशस्त्र प्रहरी बल ५ नम्बर गण प्रमुख (एसपी) सुधीर सुवेदी, नेपाली सेनाको बोक्सेस्थित रणशार्दुल गणपति अर्जुन बोहरालगायत विभिन्न निकाय र संघ-संस्थाका प्रमुख तथा प्रतिनिधिले सामूहिक बिरुवा रोपेर हरित अभियान थाले । 

 

बसपार्कको खाली जमिनको चारै कुनामा बिरुवा रोपिएको छ । बोट–बिरुवा नभएर उजाड देखिएको खाली जमिनलाई हरियालीयुक्त क्षेत्रमा परिणत गराउने उद्देश्यले त्यहाँ बिरुवा रोपिएको नगर प्रमुख चौधरीको भनाइ छ । ‘स्वस्थ, शिक्षित, उद्यमशील हाम्रो सहर, समुन्नत समावेशी र समृद्ध त्रियुगा नगर’ नारासहित नगरपालिकाले हरित अभियान थालेको उनले बताए ।


हरित र सफाइ अभियानअन्तर्गत नगरपालिकाका १६ वटै वडामा ६० हजार बढी बिरुवा रोप्ने कार्यक्रम रहेको उनले जानकारी दिए । त्रियुगा नगरपालिकालाई अक्सिजनको सहर बनाउने अभियानअन्र्तगत हरियाली बनाउन लागेको नगरप्रमुख चौधरीको धारणा छ । गत वर्ष त्रियुगा नगरपालिका वडा नम्बर १२ सोनापुरमा २५ हजार बिरुवा रोपेको थियो । 


वरिपरि चुरे क्षेत्रले घेरेको नगरपालिकामा त्रियुगा नदी र दर्जनौँ खोलाखोल्सी रहेको त्रियुगामा हरेक वर्ष आउने बाढीले कटान र डुबान गर्दै आएकाले बिरुवा रोप्नुको विकल्प नभएको नगरप्रमुख चौधरी सुनाउँछन् । खोला नदीले कटान गर्ने समस्याको निकास बिरुवा रोप्नु र बाँध तथा तटबन्धको व्यवस्थासँगै हरियाली बनाउन सके अभियान प्रभावकारी हुने उनको विश्वास छ । 

 

राष्ट्रपति चुरे कार्यालय सलकपुर र डिभिजन वन कार्यालय गाईघाटसँगको साझेदारीमा त्रियुगाले बिरुवा रोपण कार्यक्रम गरेको हो । त्रियुगालाई क्लिन सिटी, ग्रिन सिटी बनाउन यसले ठूलो सहयोग पुग्ने उपप्रमुख देवीकुमारी चौधरीले बताइन । बिरुवा रोपण कार्यक्रमले बजार क्षेत्रलाई रमणीय स्थलमा परिणत गर्ने तथा वातावरण स्वच्छ बनाइने उनको भनाइ छ । 


वृक्षारोपणमा सतिसाल, सिसौ, सिन्कौली (तेजपात), अमला, अम्बालगायत प्रजातिका बिरुवा रोपिएको छ । रोपिएका बिरुवाको संरक्षण गर्ने जिम्मा वडा कार्यालयलाई दिइएको छ । 


रोपिएका जुनसुकै बिरुवाको सुरक्षा गर्न वडाबासी, टोल विकास संस्था सबैले संरक्षण गर्नेछन् । क्लिन सिटी, ग्रिन सिटीअन्तर्गत नगरपालिकाले बेलाबेला बजारका सबै वडामा सरसफाइ अभियान पनि चलाउँदै आएको छ ।