close

बागलुङमा गुड्ने भए सार्वजनिक यातायात

बागलुङमा गुड्ने भए सार्वजनिक यातायात

Trulli
ADVERTISEMENT

बागलुङ- बागुलङबाट बुधबारदेखि राजधानी काठमाडौंसहितका सहरी क्षेत्रमा बस, माइक्रोबस र जिप सञ्चालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिकसहित यातायात व्यवसायीबीच मंगलबार भएको छलफलले दैनिक अत्यावश्यक सेवाका लागि केही बस र जिप चलाउने निर्णय गरेको हो ।

 

‘अहिले रातो प्लेटले महँगो भाडा असुल्ने गरेको गुनासो आयो । त्यसैले सार्वजनिक यातायात नै चलाउने निर्णयमा पुग्यौँ,’ प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भने, ‘यो खुलमखुला चलाउन खोजेको भने होइन ।’  काम विशेषले यात्रा गर्नुपर्नेले महँगो भाडा तिर्नु नपरोस् भनेर खुला गरिएको उनले बताए ।


सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको थियो । १४ साउनसम्म निषेधाज्ञा थप गरे पनि खुकुलो भएको छ ।  राजधानीसहितका सहरी क्षेत्रमा जानेले निजी सवारीमा महँगो भाडा तिरेको गुनासो आएपछि यातायात खुलाउने निर्णयमा पुग्न उपभोक्ता मञ्च र यातायात व्यवसायीले पहल गरेका थिए ।  बैठकपछि प्रशासनले दैनिक १४ वटा सवारी साधनलाई अनुमति दिएको हो । 


अनुमतिपछि हरेक दिन काठमाडौंका लागि बिहान र बेलुकी बस तथा माइक्रोबससमेत चल्न पाउनेछन् । त्यसबाहेक चितवनका लागि एक बस, २ वटा जिप, सुनौलीका लागि बागलुङबाट एक बस, बुर्तिवाङबाट पश्चिम नेपाल यातायात कम्पनीका बस चल्न पाउनेछन् । 


लामो दूरीतर्फ काँकडभिट्टा र नेपालगञ्ज पनि रात्रि सेवामा बस चल्नेछन् । ती सबै सवारी साधन गन्तव्यमा पुग्न जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र साथैमा लिएर जानुपर्ने प्रावधान राखिएको छ । उक्त पत्र भएका सवारीलाई पर्ने अप्ठेरो परे प्रशासनले सहजीकरण गर्ने प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिए । 


अनुमति लिएर हिडेका सवारी साधनले तोकिएको भाडा मात्र लिन पाउनेछन् । सरकारले हालै वृद्धि गरेको २८ प्रतिशतको हिसाबभन्दा बढी लिए कारबाही गरिने प्रजिअ कार्कीले चेतावनी दिए ।  निषेधाज्ञापछि सार्वजनिक यातायात चलेका थिएनन् । यातायात नचलेकै कारण यात्रीले सास्ती खेपेका थिए ।


पोखरा जानुपर्दा यात्रीले ५ हजार रुपैयाँसम्म तिर्न बाध्य थिए । अन्य क्षेत्रमा पनि रिर्जभ गरेर एकतर्फी यात्रा गर्दा दुईतर्फीको भाडा तिर्नुपरेको गुनासो गर्थे । निषेधाज्ञाकै क्रममा लोकल बस पनि रोकिएका छन् । बागलुङदेखि कुश्माका लागि चल्ने लोकल बसले पनि बुधबारदेखि सञ्चालन गर्न पाउने भएका छन् । ‘सबै सवारीले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । तोकिएको भाडामा चलाउनुपर्छ,’ कार्कीले भने, ‘यो नाफा कमाउने बेला हैन । सवारी नियमित गर्ने र जनतालाई सेवा दिने मौका हो ।’


बागलुङदेखि कुश्मा र कुश्मादेखि बागलुङ जानका लागि दैनिक १ सय बढी कर्मचारीसमेत आउजाउ गर्छन् उनीहरूबाहेक अत्यावश्यक काम पर्नेले पनि यात्रा गर्नुपर्ने भएकाले लोकल बस पनि चलाउन सुझाएकामा अनुमति मिलेको जिप व्यवसायी समितिका पूर्वअध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए ।

 

दैनिक ६ वटा लोकल बस चलाउने अनुमति प्रशासनले दिएको छ । ती सवारी साधनले बिहान र बेलुकी कार्यालय समयलाई समेत ध्यानमा राखेर चलाउनुपर्नेछ ।