सहर प्रोफाइल

नेपालगञ्ज : सामाजिक सद्भावको सहर


  • change font
  • change font
  • change font

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका (नेपालगञ्ज नगरी) नेपालकै प्राचीन शहरमध्ये एक हो । उपमहानगरपालिकाको पूर्वमा डुडुवा गाउँपलिका, पश्चिममा र उत्तरमा जानकी गाउँपालिका, दक्षिणमा हिरमिनिया र छिमेकी भारतको सिमाना जोडिएको छ ।
यो बहुजाति, बहुधार्मिक, बहुभाषी र बहुसांस्कृतिक शहर हो । एक्लैनी बजार यस नगरको पुरानो बजार हो भने सदरलाइन, त्रिभुवन चोक, बीपी चोक, घरबारी टोल र सुर्खेत रोड यहाँका प्रमुख बजार हुन् ।


२०१७ सालमा नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रूपमा स्थापित भएको हो । नेपाल सरकारको मन्त्रिपरिषदको २०७१ मंसिर १६ को निर्णयबाट साविकका १० वटा गाविस गाभेर २७ वटा वडा कायम गरी नेपालगञ्ज उपमहानगरपालिका घोषणा गरिएको हो । २०७२ असोज १ को निर्णयबाट पुरैनी गाविस गाभेर २८ वडा कायम गरियो । तर, २०७३ फागुन २७ को निर्णयअनुसार २८ वडा परिमार्जन भई २३ वडा कायम गरिएको छ । यसले बाँकेको ८,५.९४ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार यहाँको कुल जनसंख्या १ लाख ३८ हजार ९ सय ५१ रहेको छ । गर्मीमा अत्यधिक गर्मी र जाडोमा अत्यधिक जाडो हुने गर्छ यहाँ । 

 

ऐतिहासिक शहर


भारतमा अंग्रेजविरुद्ध स्वतन्त्र संग्राम भइरहेका बेला सन् १८५७ मा लखनऊमा भएको विद्रोह दबाउन तत्कालीन श्री ३ जंगबहादुर राणा अंग्रेजको मद्दत गर्न सेनासहित गएका थिए । भारतीयको व्रिदोह दबाउन सहयोग गरेबापत अंग्रेजले सुगौली सन्धिमार्फत गुमेका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता गरे । लखनऊका गञ्जहरूबाट प्रभावित जंगबहादुरले नेपालमा पनि त्यस्तै शहर बनाउने सुर कसे र बाँकेमा नेपालगञ्ज शहर बसाउन निर्देशन दिए । यो शहर बसाउन उनले पदम नाभ जोशीलाई खटाए । 


‘भारतको सीमामा जयसपुर बजार थियो, त्यहाँ हाटबजार लाग्थ्यो,’  नेपालगञ्जको इतिहासका जानकार सचिदानन्द चौबै भन्छन्, ‘पदम नाभले जयसपुर बजार बन्द गरेर जंगबहादुरको निर्देशनअनुसार चौडा सडक र चोकसहितको बजार बसाए ।’ 
१९१६ सालमा सुरु भएको निर्माण कार्य १९३८ सालमा सम्पन्न भएको थियो । 


बहुधार्मिक\बहुसांस्कृतिक शहर


गुरुद्वारा, जामा मस्जिद, बौद्ध गुम्बा, बागेश्वरी मन्दिर र नेपालकै एक मात्र जुंगे महादेवको मूर्ति नेपालगञ्जमा छ । एकाबिहानै भजन र अजानको आवाजले शहर गुञ्जिन्छ । उपमहानगरपालिकाको वडा नं. २ मा रहेको बागेश्वरी मन्दिरमा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेका छन् । करिब डेढ सय वर्षअघिदेखि हरेक वर्ष दशैँको नवरात्रीमा रामलीला मञ्चन हुने गर्छ । 


नेपालगञ्जलाई सामाजिक सद्भावको नमुना शहरका रूपमा पनि चिनिन्छ । हिन्दू, मुस्लिम समुदायको बाक्लो बस्ती छ, यहाँ । सिख, इसाई, बुद्धधर्मावलम्बीसमेत यहाँ बस्ने गर्छन् । एकअर्काको धर्मको सम्मान गर्दै आ–आफ्नो चाडपर्वमा सहभागी गराउने यहाँको चलन छ । हिन्दूहरूको चाड दशैँ–तिहारमा मुस्लिम सहभागी हुने गर्छन् भने मुस्लिम समुदायको पर्व ईदमा हिन्दूले अँगालो मार्दै शुभकामना दिने गर्छन् । मुस्लिमको ताजिया विर्सजनमा हिन्दूलाई देख्न सकिन्छ भने  दुर्गा पूजनमा मुस्लिमले पानी दिइरहेका दृश्य यहाँ देखिन्छन् ।  गुरुद्धाराको भण्डारामा हिन्दू र मुस्लिमले प्रसाद ग्रहण गरिरहेका हुन्छन् । 

 

स्वादपारखीको शहर


स्वाद यस नगरीको अर्काे परिचय हो । आलु टिकिया, पकौडा, बिरयानी, समोसा, हलुवा–परौठा, पान, पानीपुरी, मट्का दही यहाँका प्रख्यात परिकार हुन् । यहाँ आएपछि सेकुवाको स्वाद नचाख्ने कमै हुन्छन् । बीपी चोकका रेस्टुरेन्टहरूले २५ वर्षयता ग्राहकलाई सेकुवा पस्किँदै आएका छन् । कबाब टिक्की, रबडी, जलेबी, बुनिया, इमरती, रसभरी र समोसाको स्वाद यहाँका हरेक गल्लीमा पाउन सकिन्छ । धम्बोझी चोकको ठेलामा माछा, अण्डाको स्वाद ग्राहकको जिब्रोमै झुन्डिने गर्छ ।

 

शिक्षा, खेल र साहित्य 


मध्य र सुदूरपश्चिम क्षेत्रको शैक्षिक केन्द्र हो यो शहर । कर्णाली, सुदूरपश्चिम र प्रदेश–५ का विद्यार्थीका लागि प्राविधिक शिक्षाको केन्द्र पनि बनेको छ । पछिल्लो समय प्राविधिक शिक्षाआर्जनका लागि यस भेगका विद्यार्थीले काठमाडौँ र विदेश जानुपर्ने बाध्यता अन्त्य भएको कैलपाल हस्पिटल एन्ड कलेज नेपालगञ्जकी सञ्चालक रेवती सिंह बताउँछिन् ।


खेलाडी उत्पादनमा धनी छ, नेपालगञ्ज । भारोत्तोलनका सुरेन्द्र हमाल, सुटिङका पार्वती थापा र अनीता श्रेष्ठ ओलम्पियन यहीँका हुन् । उनीहरू तीनै जना एउटै टोलका हुन् । नरेन्द्र थापालगायत खेलाडी यसै शहरका हुन् । अन्तर्राष्ट्रियस्तरको रंगशाला पनि नेपालगञ्जमा छ ।
यस शहरलाई उर्दू साहित्यको उर्वरभूमि मानिन्छ । मुशायरा अर्थात् रात्रिकालीन गजल गोष्ठीलाई यस शहरको मौलिक संस्कृति मानिन्छ । मुस्तफा गुलजारे अदब, बज्मे अदबलगायत संस्था साहित्यिक क्रियाकलापमा सक्रिय रहेको शायर नसिम कादरी बताउँछन् । ‘एउटै कार्यक्रममा नेपाली, उर्दू, हिन्दी, थारूलगायत भाषाका कविता र गजल सुन्न पाउँदा गर्व लाग्छ,’ उनी भन्छन् । 


देशकै उत्कृष्ट ल्यान्डफिल साइट


एसियाली विकास बैंकको ऋण ८० प्रतिशत, नगर विकास कोषको १५ प्रतिशत ऋण र नेपालगञ्ज उपमहानगरपालिकाको पाँच प्रतिशत म्याचिङ फन्ड गरी कुल ३८ करोड ९३ लाख रुपैयाँ लागतमा नेपालगञ्जमा ल्यान्डफिल साइट निर्माण भएको हो । २०७३ साल भदौदेखि निर्माण सुरु भएको साइट २०७६ जेठ २ बाट सञ्चालनमा आएको हो । ‘अव्यवस्थित नेपालगञ्ज’को उपमा पाएको यस नगरमा चुनौतीपूर्ण बन्दै गएको फोहर व्यवस्थापन कार्य ल्यान्डफिल साइटले सहज भएको छ । त्यहाँ जम्मा भएको फोहरलाई तीन भागमा वर्गीकरण गरी फोहरबाट मोहर कमाउने उपमहानगरपालिकाको योजना छ । जसमध्ये गल्ने फोहोरलाई मलको रूपमा उत्पादन गर्ने र नगल्ने प्लास्टिक, फलामजस्ता फोहर बिक्रीवितरण गरेर आयआर्जन गर्दै आएको छ । त्यस्तै, काम नलाग्ने फोहरलाई ल्यान्डफिलसाइटमा विर्सजन गर्ने गरिएको छ ।


उत्कृष्ट उपमहानगरपालिकाको सपना


नेपालगञ्जलाई केही वर्षमा उत्कृष्ट शहरका रूपमा चिनाउने उद्देश्य उपमहानगरपालिकाले लिएको छ । त्रिवेणी मोडदेखि त्रिभुवन चोक हुँदै भेरी अञ्चल अस्पतालसम्मको सडक विस्तार र व्यवस्थित हुँदै छ । बाह्य र आन्तरिक सडक, बाटो, नाली धमाधम निर्माण भइरहेका छन् । सबै सडकमा बत्ती जडान गरी ‘उज्यालो शहर’का रूपमा विकसित गर्ने नेपालगञ्जका नगरप्रमुख डा. धवलशम्शेर राणाको योजना छ । ‘शहरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजना बनाएका छौँ,’ नगरप्रमुख राणा भन्छन्, ‘चक्रपथ, सुक्खा बन्दरगाह सुचारु गर्ने, एयरपोर्टको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने, यातायात सहज बनाउन स्काई ब्रिज निर्माण गर्ने योजना पनि बनाएका छौँ ।’