close

व्यापारी मृत्यु प्रकरण : २ जना प्रहरी नियन्त्रणमा 

व्यापारी मृत्यु प्रकरण : २ जना प्रहरी नियन्त्रणमा 

Trulli
ADVERTISEMENT

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ४ स्थित शनसेरीमाडौंका व्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । वडा नम्बर ४ लेकडाँडाका ५६ वर्षीय कमलसिंह महरा बिहीबार बिहान मृतावस्थामा भेटिएपछि अनुसन्धानका लागि त्यहाँ पुगेको प्रहरी टोलीले हत्या आशंकामा २ जनालाई नियन्त्रणमा लिएको हो ।


नियन्त्रणमा लिएकाको परिचय भने प्रहरीले खुलाएको छैन । घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 


मृतक महराको शरीरभरि चोटपटक र नीलडामका साथै टाउको र छातीमा गम्भीर चोट रहेकाले उनको हत्या भएको आशंका छ ।  मासु पसल सञ्चालन गर्दै आएका मृतक महराको शव २ सय मिटर टाढा राम महरा र हिक्मत महराको पसल अगाडि भेटिएको थियो ।


शव भेटिएको ठाउँका पसलेले आफूलाई घटनाबारे जानकारी नभएको बताए पनि पसलभित्रै रगत भेटिएको स्थानीय प्रताप महराले जानकारी दिए । उनले भने, ‘हत्या भएजस्तो छ । शरीरभरि नीलडाम र घाउ छन् । टाउको फुटेको छ भने छातीमा गम्भीर चोट छ ।’


मृतक महराले राती १० बजे घरबाट बुहारीले फोन गर्दा घर आउन ढिलो हुने र आफ्ना लागि खाना छोपेर राखिदिन भनेका थिए । मृतकको गोजीमा केही नगद पैसा र १ पाउ जति पकाएको मासुसमेत भेटिएको छ । 


मृतक महराका श्रीमती, २ छोरा, १ बुहारी र २ नातिनी छन् । मृतकका जेठा छोरा मानसिक सन्तुलन गुमाएका छन् भने कान्छा छोरा वैदेशिक रोजगारीका क्रममा साउदी रहेको स्थानीय गणेश भाटले बताए । 

 

 मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।