close

उपत्यकाका जनप्रतिनिधिसँग प्राधिकरणको छलफल : नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्न सुझाव

उपत्यकाका जनप्रतिनिधिसँग प्राधिकरणको छलफल : नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्न सुझाव

Trulli
ADVERTISEMENT

काठमाडौं– उपत्यका विकास प्राधिकरणले संघीय राजधानी काठमाडौं उपत्यकाका विभिन्न नगरपालिका प्रमुख तथा उपप्रमुखसँग हालसम्म गर्दै आएका काम र प्राधिकरणको आगामी रणनीतिक योजनाबारे छलफल गरेको छ । हालसम्म गरेका काम र आगामी योजनाबारे प्राधिकरणका नायव विकास आयुक्त दिलीपशेखर श्रेष्ठले सहभागी स्थानीय जनप्रतिनिधिलाई जानकारी दिए ।  कार्यक्रममा स्थानीय जनप्रतिनिधिको धारणामा प्राधिकरणको भूमिका कस्तो हुनुपर्छ भन्नेबारे समेत छलफल भएको थियो । 

 

उपत्यका विकास प्राधिकरण र स्थानीय निकायबीच सहकार्य आवश्यक रहेको र ठूल्ठूला लगानी गर्नुपर्ने काम, सम्पूर्ण नदीको करिडोर निर्माण एकीकृत रूपमा अबका दिनमा प्राधिकरणले गर्नुपर्ने धारणा टोखा नगरपालिका प्रमुख प्रकाश अर्यालले व्यक्त गरे । 


त्यस्तै, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेलले प्राधिकरण स–साना कामभन्दा ठूला काममा फोकस हुनुपर्ने र उपत्यकाको नदी करिडोरसँगै खोलाको बहाव क्षेत्रको मापदण्ड तयार गरेर लागू गर्नुपर्ने, खोलाको सूचीकरण गर्ने, नदी सभ्यतालाई कायम गर्दै दिगो रूपमा संरक्षण कायम गर्ने, सार्वजनिक जग्गा संरक्षणजस्ता कार्यलाई प्राथमिकता दिँदै नगरपालिकालाई प्रविधि सहयोग गर्ने, समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने र अझ अधिकारसम्पन्न र सशक्त भएर प्राधिकरण अगाडि बढ्नुपर्ने बताए । 

 

शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले काठमाडौं उपत्यकाको मास्टर प्लान काठमाडौं उपत्यका विकास प्राधिकरणले बनाउनुपर्ने, प्राधिकरणले नगरपालिकासँग समन्वय गरेर विकास निर्माणका काम गर्नुपर्ने र अनधिकृत रूपमा भएको जग्गाको खण्डीकरण नियन्त्रण गर्नुपर्ने बताए ।

 

त्यस्तै, उपत्यकाभित्र बस्ती विकासका लागि योग्य ठाउँ पहिचान गरेर व्यवस्थित बस्ती विकासमा पनि उपत्यका विकास प्राधिकरणले काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

 

१५ वर्षदेखि सुरु भएका ल्यान्डपुलिङ आयोजना समयमा सम्पन्न हुन नसकेकाले यसलाई निश्चित समय तोकेर सम्पन्न गर्ने गरी काम गर्न प्राधिकरणलाई उनले सुझाव दिए । 

 

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले बाहिरी चक्रपथ काठमाडौंको सवारी चापलाई नियन्त्रण गर्ने एउटा मात्रै विकल्प भएकाले छिटोभन्दा छिटो काम सुरु गरिहाल्नुपर्ने र विगतमा जस्तो कुरा मात्रै होइन, चक्रपथलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाइहाल्नुपर्ने बताए । 

 

कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले कागेश्वरी मनोहरा क्षेत्रमा समार्ट सिटीका लागि भनेर जग्गा रोकेर राखे पनि अहिलेसम्म बन्न नसक्दा नागरिकको विश्वास कम हुँदै गएको सुनाए । त्यसैले स्मार्ट सिटीको कामलाई छिटो सुरु गर्नुपर्ने र जति ढिला हुँदै गयो त्यति नै काम गर्न समस्या उत्पन्न हुने उनको भनाइ छ । 

 

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले काठमाडौं उपत्यका विकास प्राधिकरणको उद्देश्य उपत्यकालाई पर्यटकीय, सांस्कृतिक, पुरातात्त्विक सम्पदाको सहरको रूपमा चिनाउँदै यसको संरक्षण, सम्वद्र्धन गर्दै भौतिक पूर्वाधारयुक्त, वातावरणमैत्री सहर बनाउने रहेको जानकारी दिइन् । 
उपत्यकाको समग्र विकास प्राधिकरण र स्थानीय निकायको जिम्मेवारी भएकाले आगामी दिनमा नगरपालिका र प्राधिकरणले सहकार्य गरेर काम गर्न आवश्यक रहेकामा उनले जोड दिइन् ।