close

किसानका गुरु टीकाराम : कृषि कर्मले बनायो २ करोड जमिनको मालिक 

किसानका गुरु टीकाराम : कृषि कर्मले बनायो २ करोड जमिनको मालिक 

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बिताए । उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन् । त्यसैले उनलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ । 


६५ वर्षीय सापकोटाले अहिले पनि अधिकांश समय खेतबारीमै हुन्छन् । बिहानै उठेर तरकारी बारीमा नगएसम्म सापकोटाको मन मान्दैन । सापकोटा भन्छन्, ‘चिनीभन्दा मिर्सी गुलियो, तर मिर्सीभन्दा पनि कृषि गुलियो । म कृषिको गुलियोमा भुलेको छु । जति कृषि गर्‍यो  उति नै सन्तुष्टि हुन्छ । कृषि पेसा जति गरे पनि धीत नमर्ने कर्म रहेछ ।’

 

२०४२ देखि व्यावसायिक सोचसहित कृषि कर्ममा लागेका सापकोटा अहिले कृषिबाटै लाखौँ  आम्दानी गर्न सफल भएका छन् । अरूको जग्गा बन्धकी लिएर व्यावसायिक कृषि सुरु गरेका सापकोटाले अहिले आफ्नै पाँच रोपनी जग्गामा खेतीपाती गरिरहेको बताउँछन् । ‘कृषि गरेरै तीन छोरी र चार छोरालाई पालनपोषण, पढाइदेखि विदेश पठाउन आम्दानी खर्चिएको हुँ’, उनले भने, ‘चार छोरालाई जापान पठाएको छु । अहिले उनीहरू पनि कमाउँछन् ।’

 

पहिले उनीहरूलाई १२ कक्षासम्म पढाएर जापान आफैंले कृषिबाट कमाएको पैसाले पठाएको सापकोटा बताउँछन् । आफूले कृषि गरेर जग्गा खरिद गरेको र अहिले त्यो जग्गालाई बेच्दा २ करोड रुपैयाँ बढी पर्ने सापकोटाको भनाइ छ ।

 

सुरुमा तरकारी खेती गर्न तरकारीलाई थाक्रा राख्न बास र डोरी किन्ने पैसा नभएर सजिवलको थाक्रा र चामलको बोराको डोरी बनाएर कृषि सुरु गरेको विगत आफ्ना लागि स्मरणीय रहेको उनको भनाइ छ । अहिले आफूले कृषिबारे गाउँमा सबैलाई सिकाउने र बिरुवा वितरणसमेत गरेको सापकोटाले बताए ।

 

बागलुङ नगरपालिकाबाट ५० हजार रुपैयाँ अनुदान लिएर नेट हाउस बनाएर विभिन्न तरकारीको नर्सरी गरेका सापकोटाले त्यसबाट ४० हजारको बिरुवा बिक्री गरिसकेको बताउँछन् । केही बिरुवा गाउँका कृषक साथीलाई निःशुल्कसमेत बाँडेको उनको भनाइ छ । अहिले एकै सिजनमा ४० हजारको काँक्रो, १ हजार ३०० बोटबाट ५० हजारको गोलभेडा, बन्दा, काउली ५० हजारको बिक्री गरेको सापकोटाले सुनाए ।

 

एक सिजनमा तीनदेखि चार लाख रुपैयाँसम्मको तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको सापकोटाको भनाइ छ । अहिले उनको खेतबारीमा करेला, घिरौला, बोडी, काउली, बन्दा, टमाटर, चिचिन्नो, फर्सी, काँक्रो, खुसार्नी, भ्यान्टा, साग, केरालगायत तरकारी फलफूल छन् ।

 

बागलुङ बजारको नजिक भएकाले तरकारी बेच्न समस्या नभएको सापकोटाले जानकारी दिए । तर, तरकारी बेच्न समस्या नभए पनि बिचौलियाका कारण भनेजति मूल्यमा बिक्री गर्न नपाएको सापकोटाको गुनासो छ । दिनरात नभनी कृषि गरेर उत्पादन गरेको तरकारी सस्तोमा दिनुपर्दा कृषक मारमा परिरहेको सापकोटा बताउँछन् ।

 

‘नेपालमा कृषि गर्ने मानिसका लागि धेरै राम्रो सम्भावना र अवसर छ । नगरपालिकाले पनि समय–समयमा कृषकलाई अनुदान दिएको छ’, उनले भने, ‘तरकारीको बजार भाउ र कृषकले बेच्दा पर्ने मूल्यमा धेरै अन्तर पर्ने भएकाले यस विषयमा पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’

 

अब आफूलाई आवश्यक पैसा पुगे पनि कृषि कर्मको धीत नमरेको उनी बताउनुहुन्छ । ‘छोराछोरी आ–आफ्नो खुट्टामा उभिइसकेका छन् । कृषिले मेरो जीवन परिवर्तन गरिदियो’, उनले भने, ‘अब थप समय मिलाएर अन्य कृषकलाई समेत कसरी कृषि गरेर सफल बन्न सकिन्छ भनेर सिकाउने योजना छ ।’