close

राजनीतिलाई बाईबाई, कृषि कर्ममा हाईहाई

राजनीतिलाई बाईबाई, कृषि कर्ममा हाईहाई

Trulli
ADVERTISEMENT

‘संन्यासी बन्न राजनीति गरेको होइन ।’ जनताको सेवाका लागि राजनीतिमा हाम फालेकाहरूले अहिले भन्ने शब्दवाण यस्तै हुने गर्छन् । तर, राजनीतिलाई पेसा बनाएर पनि सादगी जीवन जिउन चाहनेहरू पनि यही समाजमै छन् । सांसद भयो, मन्त्री बन्यो अनि आफू र  आफ्ना वरपरकालाई लाभको अवसर दिनेहरू राजनीतिमा टिकिरहेका छन् । तर, जनताको सेवाका लागि राजनीति गरिरहेकालाई भने टिक्नै गाह्रो । 


मन्त्री भएपछि निवर्तमान हुन नचाहनेहरूलाई गतिलो पाठ पढाएका एक पूर्वकृषिमन्त्री लोकेन्द्र विष्ट मगरको संसार भने बेग्लै छ । कृषि कर्म गरेरै उनको स्थान उँचो छ । समाज परिवर्तन गर्ने कसम खाएर सशस्त्र द्वन्द्वको नेतृत्व गर्दै भूमिगत राजनीति गरेका र जनयुद्वको कमान्डर हुँदै मन्त्रीसमेत बनेका पूर्वमन्त्री लोकेन्द्रबहादुर विष्ट मगर यस्ता उदाहरणीय पात्र हुन्, जसको सिको अहिलेसम्म कसैले गरेकै छैन । 


आफूलाई पूर्वमन्त्रीभन्दा किसान भन्न रुचाउने विष्ट राजनीतिलाई बाईबाई गरेर कृषि क्रान्तिमा लागेका छन् । खनीखोस्री गरेर सामान्य जीवन निर्वाह गर्छन् । 
पूर्वमन्त्री अर्थात् ‘ड्रागन फलपूmल बा’ विष्टले अहिले दाङमा नमुनायोग्ग काम थालेका छन् । राजनीति छाडेर कृषिमा हाम फालेका पूर्वमन्त्री तथा कम्युनिष्ट नेता लोकेन्द्र विष्ट मगरको बारीमा नेपालमै कम उत्पादन हुने ड्रागन फल अहिले लटरम्मै फलेको छ । 


अहिलेसम्म पाँचौ लटको उत्पादन भित्र्याइसकेका विष्ट दाङमा यसको व्यावसायिक उत्पादन पहिलो भएको सुनाउँछन् । बाँझो जमिनलाई भाडामा लिएर थालेको यो व्यवसाय अहिले बालुवामा सुन फलेजस्तो भएको उनको अनुभव छ । 


‘पाँचौ  लटको उत्पादन १६ हजार क्विन्टल ड्रागन फल बजारमा पुगिसकेको विष्ट बताउँछन् । असारमा पहिलो लट उत्पादन भएको ड्रागन फल असोजसम्म पाँचौ लट निस्केको छ । ‘तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी मैरवास्थित बाँझो जमिनलाई सदुपयोग गरेर दुई वर्षदेखि व्यावसायिक ड्रागन फलको खेती गर्दै आएको छु’, विष्ट भन्छन् । 


हालसम्म रोपिएका ७ हजार बिरुवामध्ये २ हजार ५ सय सेतो प्रजाति र ४ हजार ५ सय रातो प्रजातिका रहेको र यो वर्ष मात्रै ७ सय बिरुपा थपेको विष्ट सुनाउँछन् । ‘हरेक बोटमा ५ देखि २५ वटासम्म फल लागेका छन्’, विष्ट खुसी सुनिन्छन्, ‘पछिल्लो लटमा रोपेका थप ४ हजार बिरुवाले अझै फल दिन सुरु गरेका छैनन् । ती सबै बोटले फल दिएपछि एकै लटमा कम्तीमा १० क्विन्टल ड्रागन फल तयार हुनेछ ।’

 

ड्रागन खेतीमा हालसम्म १ करोड हाराहारी लगानी भइसकेको र यसका साथै सर्पगन्धा, पेपिलो मेलन, कुरिलो, काँक्रा, फर्सी, मकै, जडीबुटी तथा अन्नबाली पनि घुसुवा बालीका रूपमा गर्दै आएको विष्ट सुनाउँछन् । विष्टको बगैंचामा ड्रागन फल उत्पादन हुने जमिनमा अन्य बाली र त्यसमाथि ड्रागन फल उत्पादन भइरहेको छ  ।