close

एमाले जनप्रतिनिधिको राष्ट्रिय भेला : ओली कामको प्रचार गाउँ–गाउँमा गर्न उर्दी 

एमाले जनप्रतिनिधिको राष्ट्रिय भेला : ओली कामको प्रचार गाउँ–गाउँमा गर्न उर्दी 

Trulli
ADVERTISEMENT

काठमाडौं– एमालेले विधान महाधिवेशन सकिएलगत्तै स्थानीय जनप्रतिनिधिको राष्ट्रिय भेला गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजना गरिएको भेलामा देशैभरका पालिका जनप्रतिनिधिको सहभागिता थियो ।

 

भेलामा केपी ओली सरकारले तीन वर्षमा गरेका कामबारे छलफल भएको छ । छलफलमा एमाले नेता शंकर पोख्रेलले बोलेका थिए । उनले तीन वर्षमा ओली नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरे ।

 

पार्टी अध्यक्ष ओलीले रेल र पानीजहाजका कुरा गर्दा मजाक उडाएको भन्दै विपक्षीप्रति उनले कटाक्ष गरे । ‘हामीले गर्ने भनेका काम मजाक थिएनन्,’ उनले भने, ‘पानीजहाजको कुरामा मजाक गरियो । अहिले विश्व बैंकले सम्भाव्यता अध्ययन गरिरहेको छ । त्यसमा हामी जोडिन खोजेका थियौँ ।’

 

उनले जनप्रतिनिधिलाई अगाडि राखेर ओलीको गुणगान गरे । एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले कार्यक्रमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रमा उनले तीन वर्षको कार्यकालमा गरेका कामबारे जनप्रतिनिधिलाई प्रवचन दिए ।

 

ओली सरकारको कार्यकालमा वैदेशिक सम्बन्धमा युगान्तकारी फड्को मारेको उनको दाबी थियो । यसबाहेक रानीपोखरी, धरहरा, हुलाकी राजमार्ग, रंगशाला, सुरुङमार्गलगायत काम ओली सरकारले गरेकाले सबै जनप्रतिनिधिलाई आफ्ना स्थानीय तहमा प्रचार गर्नसमेत सुझाए । 

 

विभाग प्रमुख दाहालले बनाएको भिडियो सबै प्रतिनिधिको इमेलमा पठाइने भनिएको छ । कार्यक्रममा प्रदेशअनुसारका जनप्रतिनिधिलाई समूहगत छलफल गराएर प्रतिक्रिया लिइएको छ ।

 

निर्वाचित भएपछि स्थानीय तह काकामको अनुभव, विकास निर्माण गर्दा आएका समस्याबारे छलफल गरेर पार्टीले आगामी दिनमा गर्नुपर्ने कामको सुझाव लिइने विभाग प्रमुख दाहालले बताए ।

 

छलफलमा सहभागी सुर्खेतको लेकबेँसी नगरपालिका प्रमुख गगनकुमार सुनारले आफ्नो कार्यकालमा भएका जनप्रतिनिधिबीच छलफल भएको सुनाए । ‘भेलामा हाम्रो कार्यकालमा भएका कामबारे छलफल भयो,’ उनले भने, ‘कार्यक्रम एकदमै सान्दर्भिक भएको छ ।’

 

संविधानले दिएका अधिकार कार्यान्वयनका सन्दर्भमा भने छलफल केन्द्रित नभएको उनको भनाइ छ । बाराको कोल्हवी नगरपालिका प्रमुखले चार वर्षे अवधिमा भएका कामको प्रचार गर्न छलफल केन्द्रित भएको बताए ।

 

‘हामीले गरेका कामको विवरण भरेर दिनुपर्छ,’ उनले भने, ‘एक किसिमको ढाँचा दिइएको छ । सोहीअनुसार गरेका काम भरेर बुझाउँछौँ ।’

 

जितपुर सिमरा उपमहानगर प्रमुख कृष्ण पौडेलले स्थानीय तहका विकास निर्माणलाई समेटेर भेला आयोजना गरिएको जानकारी दिए । ‘समग्र विकास निर्माणका कामबारे छलफल हुँदै छ,’ उनले भने, ‘कामका क्रममा भएका जटिलताका विषयमा पनि छलफल हुन्छ ।’ एमालेले ४ देखि २१ कात्तिकसम्म प्रदेशको पनि छुट्टै छलफल कार्यक्रम राखेको छ ।