close

मालपोत कार्यालय सप्तरी : दामबिना हुँदैन काम 

मालपोत कार्यालय सप्तरी : दामबिना हुँदैन काम 

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीको राजविराजस्थित मालपोत कार्यालयमा सेवाग्राहीले खुलेयाम घुस लिने गरिएको गुनासा हजारौँ पटक सुनाइसके । सेवाग्राहीको काम गरेबापत सम्बन्धित फाँटका कर्मचारीले घुस रकम लिने गरेको आरोप मालपोत कार्यालयले वर्षौंदेखि खेप्दै आएको छ । सेवाग्राहीको अधिक चाप रहने उक्त कार्यालयमा रजिस्ट्रेसन, नामसारी, अंशबन्डालगायत काम हुँदै आएको छ । 

 

कर्मचारी घुस माग्छन् या सेवाग्राहीले नै घुस दिन्छन् ! यस विषयमा खोजी गर्दै जाँदा भित्री रहस्य भने अर्कै पाइएको छ । मालपोत कार्यालय सप्तरीमा पछिल्लो केही महिनादेखि सेवाग्राहीलाई सहज तरिकाबाट कामकाज गर्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालन गरिएको छ । तर, सेवाग्राहीको काम बिनाघुस हुँदैन ।

 

एकातिर सेवाग्राहीलाई सहज सेवा दिन सुरु गरिएको अनलाइन प्रणालीको नाममा ढिलाइ गरी मालपोतका कर्मचारीले मोटो रकम असुल्दै आएका छन् । मालपोतमा काम गर्ने बिचौलिया अर्थात् लेखापढीको सेटिङ पहिलादेखि नै हुने गरेका कारण विभिन्न नगरपालिका तथा पालिकाबाट आउने सेवाग्राहीले अनलाइन प्रणालीको टोकन लिन फाइल लगाएको चार दिनपछि पनि काम हुँदैन ।

 

तर, मालपोत कार्यालयका बिचौलियाले पैसा दिए एक दिनमै टोकन लगाउने काम खुलेयाम गरिरहेका छन् ।  खुलेयाम घुस लेनदेन हुँदा पनि कारबाही गर्ने निकायले आँखा चिम्लिएको गुनासो सेवाग्राहीको छ । 

 

अधिक कामको चाप रहने उक्त कार्यालयले एक दशकयता कर्मचारी अभावमा नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्न सकेको छैन । मालपोतमा तीन महिनासम्म धाउँदा पनि काम नभएको गुनासा गर्ने सेवाग्राहीको फेहरिस्त लामो छ । कार्यालयमा प्रमुख १ जना हुनुपर्नेमा वर्षौंदेखि निमित्त भएर मालपोत अधिकृतले कार्यालय धान्दै आएको छ । २ जना मालपोत अधिकृत हुनुपर्नेमा हाल १ जना, नायब सुब्बा ७ जना हुनुपर्नेमा ५ जना मात्र कार्यरत छन् । 

 

यसैगरी खरिदार १० जना हुनुपर्नेमा हाल ६ जना मात्र कार्यरत छन् । रिक्त स्थानमा कर्मचारी पठाउन पटक–पटक पत्राचार गर्दा पनि हालसम्म कार्यान्वयन नभएकाले एक जनाले कहिलेकाहीँ ४–४ वटा फाँटको जिम्मेवारी सम्हाल्नुपरेको कर्मचारी बताउँछन् । यस्तै, कार्यालयमा स्रेस्ता र मोठ फाँटमा कामको अधिक चाप हुने भए पनि कर्मचारी अभावले सेवाग्राहीलाई छिटोछरितो सेवा दिन नसकिएको स्वयं कर्मचारी नै बताउँछन् ।

 

१० वटा मोठ फाँट रहेकामा २ जनाले भ्याउनुपर्ने अवस्था छ । मालपोतमा काम गराउन आएका सेवाग्राहीलाई कुन फाँटमा जाने, कहाँ काम गराउने भन्ने प्रक्रिया बुझ्नै गाह्रो छ । विभिन्न फाँट धाउँदाधाउँदै सेवाग्राही वाक्कदिक्क हुन्छन् । चाँडै काम गराएर फर्किने आसमा दिनहुँजसो कार्यालय धाउने सेवाग्राहीलाई त्यही घुमिरहेका दलालले काम तुरुन्तै गराइदिने भन्दै रकम माग गर्छन् । सेवाग्राहीका अनुसार दलालले मोटो रकम लिएर केही अंश मालपोतका कर्मचारीलाई समेत टक्र्याउँछन् ।