close

३ महिनापछि विस्तार हुँदै मन्त्रिपरिषद् : को–को बन्दै छन् मन्त्री ?

३ महिनापछि विस्तार हुँदै मन्त्रिपरिषद् : को–को बन्दै छन् मन्त्री ?

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बेलुकासम्म मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बालुवाटार छलफलमा मन्त्रालयको भागबन्डाका आधारमा सहमति जुटेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको हो ।

 

छलफलमा शीर्ष नेताबीच जुटेको सहमतिअनुसार कांग्रेसले ८ मन्त्री र १ राज्यमन्त्री, माओवादीले ५ मन्त्री र १ राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र १ राज्यमन्त्री र जसपाले ४ मन्त्री पाउने करिब–करिब तय भएको छ ।

 

छलफलले मन्त्रालयको भागबन्डा टुंगिएसँगै सत्तारुढ गठबन्धनबाट मन्त्री बन्नेको नामावली पनि टुंग्याएको छ । सत्ता नेतृत्व गरेको कांग्रेसले मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, उमाकान्त चौधरी र उमा रेग्मीलाई मन्त्री बनाउने तयारी छ । देउवाले रिजाललाई काननमन्त्री बनाउने तयारी गरेका छन् । यसअघि कानुनमन्त्री रहेका ज्ञानेन्द्र कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । 

 

त्यस्तै, माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । तर, मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।

एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाउने भएको छ । उसले भवानी खापुङलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ । समाजवादीबाट मन्त्री हुने खतिवडाले सहरी विकास, झाँक्रीले स्वास्थ्य, आलेले पर्यटन र श्रेष्ठले श्रम तथा रोजगार मन्त्रालय पाउनेछन् । 

 

जनता समाजवादी पार्टीले भने मन्त्री छनोटका लागि मापदण्ड बनाएको छ । सोही आधारमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीको नाम टुंग्याउने बुझिएको छ । जसपाका एक नेताका अनुसार महेन्द्र राय यादव, अमृता अग्रहरि र प्रमोद साहमध्ये एक मन्त्री हुनेछन् । यस्तै, राजेन्द्र श्रेष्ठ र इस्तियाक राईमध्ये एक मन्त्री हुने सम्भावना छ । महिलाबाट रेणु यादव वा अमृता अग्रहरी हुने सम्भावना छ । जसपाबाट मन्त्री बन्ने सम्भावनामा परेका अर्का पात्र रामसहाय यादव हुन् ।