close

विजयादशमी आज: मान्यजनबाट टीकाजमरा लगाइँदै, उत्तम साइत १० बजेर २ मिनेट

विजयादशमी आज: मान्यजनबाट टीकाजमरा लगाइँदै, उत्तम साइत १० बजेर २ मिनेट

Trulli
ADVERTISEMENT

काठमाडौं– दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर प्रत्येक नेपालीका घरमा हर्षोल्लासाथ दसैँ मनाइँदै छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । 

 

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्वमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ । नेपाल पञ्चांग निर्णायक समितिले यो वर्षको बडादसैँको टीका लगाउने शुभ साइत बिहान १० बजेर २ मिनेटमा रहेको सार्वजनिक गरेको छ । 

 

बडादसैँका दिन आज देशविदेश र सहरबजारबाट मूल घर आएकाहरूले परिवारजनका मूलीबाट टीका र आशीर्वाद दिने चलन छ । दसैँको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ । कहीँकतै दसैँको टीका एक दिन लगाउने प्रचलन छ भने कतै पूरै पाँच दिनसम्म लगाइन्छ । 

 

विजयादशमी आफैंमा शुभदिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साह शक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो । साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ उनले भने ।

 

टीका लगाउने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने

आज विजयादशमीको दिन टीका लगाई माग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष अधिकारीले बताए । 

 

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाइन्छ ।

 

जमराले विभिन्न रोगव्याधिमा औषधीको रूपमा काम गर्ने तथ्य वैज्ञानिक रूपमा 

घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादसँैको सबैभन्दा महत्त्वपूर्ण दिन हो । 

 

सत्ययुगमा देवीले महिषासुर र त्रेतायुगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । आजकै दिन मौर्य सम्राट अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरू शस्त्र परित्याग दिवस मनाउँछन् । 

 

गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापेर यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । 

 

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ–

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्चपवने मानं च दुर्योधने ।।
शौर्य शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्चनारायणे ।।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरूप मानेर आशीर्वाद दिइन्छ–

 

जयन्ती मङ्गलाकालीभद्रकालीकपालिनी ।
दुर्गाक्षमाशिवाधात्री स्वाहा स्वधानमोऽस्तुते ।।

 

आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यो वर्ष कोरोना महामारीका कारण सुरक्षित रहन सरकारले आग्रह गरेको छ ।