close

अब विद्यार्थीहरूले नै गाउँमा बजाउनेछन् पञ्चेबाजा

अब विद्यार्थीहरूले नै गाउँमा बजाउनेछन् पञ्चेबाजा

Trulli
ADVERTISEMENT

तनहुँ- व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचिअनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो । 

सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन् । पढाईसँगै उनले सीपमूलक तालिम पनि सिकेका छन् । पञ्चेबाजाअन्तर्गत उनले अहिले मज्जाले ढलाकी बजाउन सिकेका हुन् । विद्यालयले सिक्दै, पढ्दै कार्यक्रमअन्र्तगत एक महिने पञ्चेबाजासम्बन्धी प्रशिक्षण दिएपछि उनी ढलाकी बजाउन निपूर्ण बनेका हुन् । 

“सुरुमा कसरी बजाउने होला भन्ने सोचेको थिएँ”, उनले भने, “प्रशिक्षकले दिएको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरको प्रयासपछि अहिले ढलाकी बजाउन सक्षम बनेको छु ।” लामिछाने जस्तै कक्षा १० मा अध्ययनरत शिशिर सापकोटा टेम्पो बजाउन सफल भएका छन् । इच्छाशक्ति भए नसकिने भन्ने हुँदो रहेनछ विद्यार्थी सापकोटाले भने, “सुरुमा डर लागे जस्तो भए पनि अहिले मज्जाले बजाउन सकिन्छ ।’

विद्यालयले चितवनबाट प्रशिक्षक ल्याएर इच्छुक विद्यार्थीहरुका लागि पञ्चेबाजासम्बन्धी एकमहिने प्रशिक्षण दिएको शिक्षक धु्रव भण्डारीले जानकारी दिए । पञ्चेबाजामध्ये नरसिंहा बजाउने प्रशिक्षण दिने तयारी गरेका छौँ । उनले भने, “वाद्यबाजन र पञ्चे बाजा बजाउन सके पनि धेरैले नरसिंहा बजाउन सक्दैनन् ।”

विद्यालयमा पठनपाठन बन्द भएको समय र बिदाका दिनमा समाजमा हुने बिवाह, ब्रतवन्ध, पूजाआजालगायतका कार्यक्रममा पठाइने सोच बनाइएको सो विद्यालयले जनाएको छ । विद्यालयमा बाद्यबाजनका साथै नृत्य, टपरी बुन्ने, तरकारी खेती, आलुखेती, बत्ती कात्ने, कपाल काट्नेलगायतका सीप विद्यार्थीलाई दिएर संस्कारी बनाउन लागिएको प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए । 

समाजमा चलिआएका पुर्ख्यौली सीपहरु समेत लोप हुने अवस्थामा पुगेकाले विद्यार्थी सिकाएर व्यावहारिक बनाइएको छ । कक्षा ८,९ र १० कक्षाका विद्यार्थीलाई शिक्षाको साथै व्यावहारिक शिक्षा प्रदानमा जोड दिइएको उनको भनाइ छ ।