close

रोजगारका योजना छनोट गर्दै चौरजहारी

रोजगारका योजना छनोट गर्दै चौरजहारी

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले यो वर्ष ४१ योजनामार्फत रोजगारी दिने भएको छ । नगरमा सूचीकृत बेरोजगारलाई नगरपालिकाले प्रधानमन्त्री, मुख्यमन्त्री र नगरप्रमुख रोजगार कार्यक्रममार्फत रोजगारी दिन लागेको हो । 

 

नगरपालिकाले मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ३७ र प्रधानमन्त्री र नगरप्रमुख रोजगार कार्यक्रमका निम्ति चार गरी ४१  योजना छनोट गरेको हो ।  

 

प्रधानमन्त्री र नगरप्रमुख रोजगार कार्यक्रमका लागि ६३ लाखको सहिद स्मृति नगर अस्पताल वडा-१० का लागि आवश्यक संरचना निर्माण, वडा- ५ मा १२ लाखको भुजिंगे-खहरे-थापागारा पदमार्ग निर्माण, वडा- १२ मा १० लाखको जुम्लीपोखरी निर्माण र वडा- ४ मा १५ लाखको मालिका मन्दिर तथा फिल्ड निर्माण छनोटमा परेको छ । 

 

यस्तै, मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि विद्यालय भवन तथा शौचालय, प्रतीक्षालय, बाटो, सिँढी, वडा कार्यालय भवन, सडक, खेलमैदान, पार्क निर्माण, तरकारी तथा फलफूल खेती, नहर मर्मत, तटबन्ध, खानेपानी निर्माणलगायत योजना छनोट भएका छन् । 


नगरकार्यपालिकाको ६२ औं बैठकले रोजगारीका योजना छनोटसहित आवश्यक लागत अनुमानसमेत गरेको छ । नगरपालिकाले यो वर्ष रोजगारीका लागि ८ करोड खर्च हुने अनुमान गरेको छ । सबैभन्दी बढी मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ७ करोड लागत लाग्ने नगरपालिकाको अनुमान छ । मुख्यमन्त्री रोजगारका लागि छनोटमा परेका योजना चारदेखि ५० लाखसम्मका छन् ।

 

प्रधानमन्त्री र नगरप्रमुख रोजगारका लागि १ करोड बजेट अनुमान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि थप बजेट प्राप्त भएकाले अन्य योजना छनोट हुने नगरप्रमुख विशाल शर्माले जानकारी दिए । नगरमा सूचीकृत बेरोजगारको संख्या  संघ र प्रदेशबाट यो वर्ष आउने बजेटका आधारमा योजना छनोट गरिएको उनले बताए ।  

 

नगरपालिकामा दुई हजार दुई सय २५ बेरोजगार सूचीकृत भएका छन् । उनीहरूमध्ये पहिलो चरणमा दुई सय ४७ जनाले सयदिने रोजगारी पाउन लागेको रोजगार संयोजक कृष्ण शर्माले जानकारी दिए ।

 

चौरजहारीमा यसअघि प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत केही समयको रोजगारी दिने गरिएकामा यो वर्षदेखि नगरप्रमुख रोजगार कार्यक्रम थप भएको छ । बेरोजगारलाई रोजगारी दिने उद्देश्यले नगरप्रमुख रोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको नगरप्रमुख शर्माले बताए ।