close

निमित्तले पालिकाबाहिर बसेर करारमा नियुक्ति दिए, कार्यपालिकामा निर्णय नहुँदा तलब पाएनन्

निमित्तले पालिकाबाहिर बसेर करारमा नियुक्ति दिए, कार्यपालिकामा निर्णय नहुँदा तलब पाएनन्

Trulli
ADVERTISEMENT

हुम्ला- अदानचुली गाउँपालिकामा कार्यरत करारका कर्मचारीले १० महिनादेखि तलब नपाएको भन्दै संघर्ष समिति गठन गरी तलब माग गरेका छन् । 

नियुक्ति दिए पनि तलब दिन नसक्नुको कारण के हो ? भनेर गाउँपालिका अध्यक्ष मोहन बिक्रम सिंहलाई पालिकाखबरले सम्पर्क गर्दा कुरा गर्न चाहनेन् । उपाध्यक्ष कर्ण रोकायलाई सोध्दा नियुक्ति प्रक्रियामै समस्या भएको पालिकाखबरलाई बताए । उनका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखनाथ शाहीले सुर्खेत बसेर करारका कर्मचारीलाई नियुक्ति गर्ने काम गरेका उनको आरोप छ । 

उनले पालिकाखबरसँग भने,‘गाउँपालिका अध्यक्षको आडमा निमित्त हाकिमले आफूखुशी नियु्क्ति दिए तर तलब दिन सकेनन् ।’ त्यस्तै विभिन्न बहाना गर्दै प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नबस्नुले पनि थप समस्या भएको उनको भनाइ छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्रमुख प्रशासकीय अधिकृतले आवश्यक करारका कर्मचारीको कोटा निर्धारण गरी कार्यपालिका बैठकबाट पारित गरेरमात्र कर्मचारीका लागि विज्ञापन गर्नुपर्ने व्यवस्था छ । उपाध्यक्ष रोकायमा अनुसार कुनै पनि कर्मचारीको नियुक्ति र आवश्यक कोटा कार्यपालिकाबाट पारित भएको छैन । 

यता, १० महिनायता पारिश्रमिक नपाएका कर्मचारीहरूले भने गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई भेटेर तलब भुक्तानीका लागि ज्ञापनपत्र पेस गरेका छन् । गाउँपालिकाले परिश्रमिक उपलब्ध नगराएमा आन्दोलनका थप कार्यक्रम ल्याउन पीडित कर्मचारी बाध्य हुने समितिले जनाएको छ । 

यसरी लामो समयसम्म पारिश्रमिक नपाउने करारका कर्मचारीहरुमा कृषि, शिक्षा, पशु शाखा, वडाका कम्प्युटर अपरेटर, वडा सहायक कर्मचारी, अनुदानका शिक्षक र कार्यालय सहयोगी गरी १५० जना कर्मचारीहरु रहेका छन् ।