close

‘श्रम बैंक’ले बेरोजगार र रोजगार दिनेलाई जोड्दै

‘श्रम बैंक’ले बेरोजगार र रोजगार दिनेलाई जोड्दै

Trulli
आर्टिफिसियल इन्टेलिजेन्ट प्रविधिबाट बनाइएको तस्बिर
ADVERTISEMENT

रुपन्देही– बुटवल उपमहानगरपालिकाले श्रम बैंकमार्फत पालिकाभित्रका बेरोजगारलाई श्रम उपलब्ध गराइरहेको छ । आर्थिक वर्ष २०७८/०७९ बाट श्रम बैंकबाट रोजगारी उपलब्ध गराउन थालेको हो । 

श्रम बैंकमा आफ्नो नाम दर्ता गराएका मानिसहरूमध्येका बेरोजगार नागरिकलाई श्रम बैंकको बेरोजगार सूचीमा सुचीकृत गरिने उपमहानगरका श्रम शाखा प्रमुख अरविन्द पाण्डेले बताए । 

उनका अनुसार रोजगारदातासँग उनीहरूलाई कस्तो खालको क्षमता भएका व्यक्ति आवश्यक भएको हो बुझिन्छ । रोजगारदातालाई आवश्यक परेको श्रमिकको विषयमा बुझेपछि सोहीअनुसार बेरोजगार सूचीमा भएका व्यक्तिहरूलाई तालिम प्रदान गरिने उनले बताए ।

‘श्रमिकलाई रोजगारदाताकोमा काम गर्न पठाउनु अघि अर्ली जब ट्रेनिङ दिइन्छ । त्यो बेलाको पारिश्रमिक उपमहानगरले उपलब्ध गराउँछ,’ उनले भने । तालिम दिएर योग्य बनाएपछि श्रम बैंकका श्रमिकलाई कम्पनीमा रोजगारीको लागि पढाइने उनले बताए ।

विशेषगरी ‘प्रोडक्सन’का क्षेत्रमा रोजगारी उपलब्ध गराइएको शाखा प्रमुख पाण्डेले भने । ‘पढे लेखेको श्रमिकलाई १० देखि ४ बजेसम्मको अफिसको कामदेखि सामान्य क्षमता भएकालाई लेबरसम्मका काम उपलब्ध गराएका छौँ ।’

रोजगारी उपलब्ध गराउँदा श्रमिक र श्रमदाताबीचमा उपमहानगरपालिका रहेर श्रम सम्झौता गराउने उनले बताए । सोही सम्झौताअनुसार श्रमिकले पारिश्रमिक पाउने उनले सुनाए । उनले भने, ‘सँधै फर्मल तरिकाबाट सम्झौता हुन्छ भन्ने पनि छैन । कहिलेकाँही उपमहानगरपालिकाले टेलिफोन सम्पर्कबाट पनि श्रमिकलाई रोजगारी उपलब्ध गराएको छ ।’ 

श्रम बैंक सञ्चालनमा आए कृषि क्षेत्र, कम्पनीमा इन्टर्नसिप अथवा कम्पनीको आवश्यकता अनुसार हालसम्म करिब ५० जनालाई रोजगारी उपलब्ध गराइएको उनले बताए । 

बुटवल औद्योगिक क्षेत्र लगायतका बुटवल उपमहानगर क्षेत्र कम्पनीहरूमा श्रम उपलब्ध गराइने उनले बताए । बुटवल उपमहानगरका स्थानीय बासी तथा अस्थायी रुपमा बस्दै आएका व्यक्तिहरूलाई पनि रोजगारी उपलब्ध गराइने उनले बताए । तर, स्थानीय बासीलाई रोजगारी उपलब्ध गराउन पहिलो प्राथमिकतामा राखिने उनको भनाई छ । 

श्रम शाखामा कर्मचारीको अभावले गर्दा धेरै जनालाई काम गर्न नसकिएको उनले बताए । उनले भने, ‘अहिले हामी थोरै मात्रामा मात्र रोजगारी दिनेगरी काम गरिरहेका छौँ । चाँडै नै धेरै जनालाई रोजगारी दिन्छौँ ।’ थप रोजगारी उपलब्ध गराउन उद्योगसँग छलफल चलिरहेको उनले बताए ।

गत वर्ष ७२५ जना र चालु आर्थिक वर्षमा ९०० जना श्रम बैंकको बेरोजगार सूचीमा सूचीकृत भएको रहेको शाखा प्रमुख पाण्डेले बताए । उनका अनुसार रोजगार दाताको माग अनुसार श्रम उपलब्ध गराइन्छ  । चालु आर्थिक वर्षमा श्रम बैंकमा रहेका २०० भन्दा धेरै श्रमिकलाई रोजगारी उपलब्ध गराउने उद्देश्य रहेको शाखा प्रमुख पाण्डेले बताए । 

अन्य स्थानीय तहले श्रम बैंकको अवधारण सञ्चालनमा रहेको तर बुटवल उपमहानगरपालिकाले वृहत तरिकाबाट रोजगारी उपलब्ध गराउने उद्देश्यले श्रम शाखा नै सञ्चालनमा ल्याएर रोजगारीको क्षेत्रमा काम गरेको नगरप्रमुख खेलराज पाण्डेयले बताए । 

स्थानीयबासी मात्र नभई अन्य क्षेत्रबाट पनि अस्थायी बसोबासका लागि मानिसहरू आउने भएकाले उनीहरूको रोजगारीको पनि व्यवस्था मिलाउनु उपमहानगरपालिकाको कर्तव्य रहेको उनले पालिकाखबरसँग बताए । नगरप्रमुख पाण्डेयले भने, ‘स्थानीयलाई र पालिका बाहिरबाट आएकालाई छुट्टा छुट्टै मापदण्ड अनुसार श्रम उपलब्ध गराउँछौँ ।’ हाल श्रम शाखामा कर्मचारी कम भएपनि शाखाको क्षमता बढाएर धेरैलाई रोजगारी उपलब्ध गराउने उनले बताए ।