close

नगरप्रमुख थापाकी छोरी सार्वजनिक विद्यालयमा भर्ना

नगरप्रमुख थापाकी छोरी सार्वजनिक विद्यालयमा भर्ना

Trulli
ADVERTISEMENT

कपिल्वस्तु। शिवराज नगरपालिकाका नगर प्रमुखले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन्। नगरप्रमुख अजय थापाले आफ्नो एक्लो सन्तान छोरीलाई निजी विद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना गराएका हुन्। 

उनले हंशबाहिनी बोर्डिङ स्कुलमा अध्ययनरत छोरीलाई यस शैक्षिक सत्रदेखि खडेन्द्रपुरमा रहेको समयथान माध्यमिक विद्यालयको कक्षा ८ मा भर्ना गरेको बताए। 

नगरपालिकाले सामुदायिक विद्यालयको स्तर वृद्धि गर्ने उद्देश्यले सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिका छोराछोरीलाई सामुदायिक विद्यालयमै अनिवार्य पढाउनुपर्ने निर्णय गरेको थियो। सोही अनुसार नगरप्रमुख थापाले आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएका हुन्। 

उनले सामुदायिक विद्यालयलाई गुणस्तर बनाउन १० ओटा विद्यालयलाई मर्ज गरिएको तथा ८ ओटा विद्यालयको लेभल डाउन गरिएको जानकारी दिए। यस्तै सामुदायिक विद्यालयमा शिक्षकको संख्या बढाएको समेत उनले बताए। 

‘हरेक विद्यालयमा गुनासो पेटिका राखिएको छ। त्यस पेटिका नगर पालिकाले खोल्ने गर्छ। यदि कुनैपनि विद्यार्थीलाई शिक्षकको बारेमा चित्त बुझेन भने शिक्षकको नाम सहित गुनासो लेखेर राखिदिएमा नगरपालिकाले शिक्षकलाई स्पष्टिकरण सोध्ने व्यवस्था गरेका छौँ,’ नगरप्रमुख थापाले भने। यस्तै विद्यालयमा इ–हाजिरीको व्यवस्था गरि त्यसको कन्ट्रोल नगरपालिकाबाट गर्ने व्यवस्था समेत राखिएको उनले बताए। 

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या धेरै भएमा १०० जना भन्दा धेरै एउटै कक्षामा बसेर पढ्नुपर्ने अवस्था थियो। त्यसलाई व्यवस्थापन गर्न एउटा कक्षामा ४५ जना विद्यार्थी राख्ने र सो भन्दा धेरै भएमा सेक्सन छुट्याएर पढाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए। 
यस्तै शिवराज नगरपालिकाले ४५ जना स्थायी शिक्षकहरुलाई पालिका भित्रकै अन्य सामुदायिक विद्यालयमा सरुवा गरेर शैक्षिक सुधारको प्रयास गरेको छ। ६६ जना नयाँ स्वमसेवक शिक्षक भर्ना गरेक विद्यालय– विद्यालयमा खटाइएको उनले बताए। 

नगरपालिकाको निर्णय बमोजिम सार्वजनिक जिम्मेवारी बोकेका व्यक्तिले आफ्नो सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न थालिएको उनको भनाई छ। यदी नगरपालिकाको निर्णयलाई अटेर गरेर निजी विद्यालयमै पढाएको पाइएमा नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि बनेको ऐन, २०७९ बमोजिम कारबाही गरिने उनले बताए। 

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने विषयलाई प्राथमिकतामा राखेको नगरप्रमुख थापाले बताए। उनी भन्छन्, ‘निजी विद्यालयभन्दा सामुदायिक विद्यालयको भौतिक संरचना धेरै राम्रो छ। शिक्षकहरु पनि लोकसेवा पास गरेर आउनु भएकाले नीजि विद्यालयको भन्दा योग्य हुनुहुन्छ। हामीसँग भएको कमजोरी भनेको अनुशासन र व्यवस्थापनमा हो। यसलाई सुधार गरेर सामुदायिक विद्यालयलाई गुणस्तर बनाउन नगरपालिकाले काम गरिरहेको छ।’