close

सार्वजनिक व्यक्तिको सन्तान अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन

आगामी शैक्षिक सत्रदेखि पूर्ण रुपमा नि:शुल्क शिक्षा

सार्वजनिक व्यक्तिको सन्तान अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउन निर्देशन

आगामी शैक्षिक सत्रदेखि पूर्ण रुपमा नि:शुल्क शिक्षा

Trulli
ADVERTISEMENT

कपिलवस्तु । शिवराज नगरपालिकाले सावजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ  । नगरपालिकाले आगामी शैक्षिक सत्र २०८० लागू हुने गरी सो निर्देशन दिएको हो । 

नगरपालिकाको अनुसार शिवराज नगरपालिकाको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनको लागि बनेको ऐन २०७९ को दफा ६ को १ बमोजिम अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउने निर्देशन दिएको हो । नगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउनको  लागि  सो निर्णय गरेको जनाए । 

सार्वजनिक पद धारण गरी पालिकाभित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्दै आएका व्यक्तिको सन्तान आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने पर्ने उनले बताए । सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक तथा अन्यले अनिवार्य रुपमा आफ्नो सन्तालाई सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने उनले सुनाए। 

'सामुदायिक विद्यालयमा सचेत अभिभावकको खाँचो छ', उनले भने, ुतर सामुदायिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति वा शिक्षकको रुपमा रहेका हुन्छन् तर आफ्नो सन्तान संस्थागत विद्यालयमा अध्यापन गराँउदै आएका हुन्छन् ।'  उनले सचेत अभिभावकले  विद्यालयको शैक्षिक प्रणाली र वयवस्थापनको निगरानी गर्ने भएकोले शिक्षाको गुणस्तरीयतामा बृद्धि हुने विश्वास व्यक्त गरे । 

आफू सामुदायिक विद्यालयमा  कार्यरत रहे पनि आफ्नो सन्तानलाई संस्थागत विद्यालयमा पढाएकोले शिक्षामा गुणस्तरी वृद्धि नभएको उनले बताए । आफ्नो सन्तान पढेपछि विद्यालय र शिक्षकलाई अभिभावकले पनि सचेत गराउनु हुन्छ, उनले भने । 

उनका अनुसार नगरपालिकाले पालिका क्षेत्रमा बसोबास गर्ने सार्वजनिक व्यक्तिको तथ्यांक संकलन गर्नको लागि आवश्यक तयारी गर्दै आएको छ । 'पालिका क्षेत्रमा बसोबास गर्ने सार्वजनिक व्यक्तिको तथ्यांक र विवरण संकलन गर्दै छौँ,' उनले भने, 'विवरणबाट सार्वजनिक व्यक्तिको संख्या, उनीहरुको सन्तान अध्ययन गर्ने विद्यालय तथा आवश्यक जानकारी संकलन गरिने छ । 

सो विवरण संकलन गर्नको लागि वडा कार्यालय र विद्यालयसँग आवश्यक सहयोग लिने उनले बताए ।

साथै पालिकाले आगामी शैक्षिक सत्रबाट माध्यमिक तहसम्मको शिक्षा निःशुल्क रुपमा वितरण गरिने उनले बताए । नगरपालिकाले सोही ऐनलाई आधारमा अनिवार्य र निःशुल्क शिक्षा वितरण गर्न लागेको हो । 

नेपाली, अंग्रेजी वा अन्य कुनै माध्यमबाट अध्ययन गरे पनि पालिका क्षेत्रका विद्यालयमा कुनै शुल्क नलाग्ने उनले बताए । 

हाल पालिकामा ५३ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । पालिका क्षेत्रमा करिब २८००० जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए । त्यसमध्ये १९००० जना सामुदायिक विद्यालयमा अध्ययन गर्दै आएको शाखा प्रमुख विश्वकर्माले बताए । 

सो कार्यक्रमबाट तुृलनात्मक रुपमा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा वृद्धि हुने विश्वास उनको छ ।