close

चुनौती संस्कारी तीजको: उहिलेकाे तीज सम्झिँदा

“तीज भनेको त सांस्कृतिक चाड हो, महिलाहरुको विशिष्ट चाड भएकाले यसलाई सोहीअनुरुप मनाउन सकिएन भने एक दिन यो पर्वले विकृत रुप लिनसक्छ ।”

चुनौती संस्कारी तीजको: उहिलेकाे तीज सम्झिँदा

“तीज भनेको त सांस्कृतिक चाड हो, महिलाहरुको विशिष्ट चाड भएकाले यसलाई सोहीअनुरुप मनाउन सकिएन भने एक दिन यो पर्वले विकृत रुप लिनसक्छ ।”

Trulli
ADVERTISEMENT

काठमाडौं— आज व्रत बसेर हरितालिका तीज मनाइरहेकी भक्तपुरकी ४० वर्षीया मिनालाई करिब एक महिनादेखि तीज लागिरहेको थियो । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी (छोइला चिउरा) खाएर दर खाने कार्यक्रम सुरु गरियो”, मिनाले हाँस्दै सुनाउनुभयो । 

भदौ लागेदेखि नै प्रत्येक शनिबार र बिदाको दिन दरखाने कार्यक्रम हुँदै आए पनि आफू भने ती कार्यक्रममा सहभागी नभएको कौशलटारकी दुर्गा सत्याल बताउनुहुन्छ । तीज आउनु महिनौँअघिदेखि यस्ता दरखाने कार्यक्रम राख्नुलाई सत्याल राम्रो ठान्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “तीज भनेको त सांस्कृतिक चाड हो, महिलाहरुको विशिष्ट चाड भएकाले यसलाई सोहीअनुरुप मनाउन सकिएन भने एक दिन यो पर्वले विकृत रुप लिनसक्छ ।”

अघिल्ला वर्षहरुमा आफू केही कार्यक्रममा गएको अनुभव सुनाउँदै उहाँ त्यस्ता दर खाने कार्यक्रमको मेनु हेर्दा आफू चकित परेको बताउनुहुन्छ । ह्विस्की, बियर, वाइन, मासुका परिकार खाँदै विदेशी गीतमा नाच्नुमा तीजको रौनक नआउने उहाँको अनुभव छ । उतिबेला आफूले गाउने गरेको तीज गीत सत्यालले यसरी सम्झँदै भन्नुहुन्छ, 

‘हे... बाबा लिन आउनुभयो वर्ष दिनको तीजलाई
पठाइदिनुस् स्वामी राजा दुवै दिनलाई’

“दरखाने अघिल्लो दिन माइतीबाट दाजुभाइ लिन जाने चलन थियो । घरबाट श्रीमान् (स्वामी राजा), सासू, ससुराले बिदा दिए त माइत गइन्थ्यो, नदिए घरमै रुँदै बस्नुको विकल्प हुँदैनथ्यो”, अर्घाखाँचीका ती दिन सम्झँदै भक्तपुरकी मिनादेवीले भन्नुभयो, “साथीसङ्गी र आफन्तसँग बसेर सबै पीडा, दुःख मेट्ने यो जत्तिको उपयुक्त चाड महिलाका लागि अरु छैन ।”

अर्घाखाँचीमा गाइने तीज गीत मिनाले यसरी सम्झनुभयो,

छोरी मान्छे भएर बस्नु घरै स्याहारी
दिदीबहिनी आउँछन् मेरा नजाउ पियारी

दुई दिन माइत जान पाइन तीजका बेलामा
म चेलीको आँशु झर्यो दैलो ठेलामा । 

गोरखा मैलुङमा बाल्यकाल बिताएकी मध्यपुरथिमीकी राधिका देवकोटा पन्त २०४२ तिरको तीज सम्झँदै पुलकित हुनुहुन्छ । श्रीकृष्ण जन्माष्टमीको रातदेखि नै आमा दिदीहरु जम्मा भएर हरेक रात खानापछि हातले दाम्लो बाट्दै, मकै छोडाउँदै घन्टौँसम्म गीत गाएर बसेको स्मरण राधिकासँग छ । 

बारीमै पाकेका काँक्राको अचार हाल्ने, घीउ र मसलाको जोहो गर्ने मात्र होइन तीजभरिलाई पुग्ने दाउरा, घाँसको व्यवस्था गरेर महिलाहरु तीज मनाउन माइत जान्छन् । 

“दर खाने दिन माइत पुगेपछि राति १२ बजे उठेर घ्यू, भात, तरकारी टन्न खाइन्थ्यो, तीजको दिन निलाहार व्रत बसेर विभिन्न मठ, मन्दिरमा दर्शन गर्दै गीत गाउने र नाच्ने गरिन्थ्योँ”, राधिका हौसिँदै थप्नुहुन्छ, “भोलिपल्ट पञ्चमीको पूजा लगाएर बा, आमा, दाजुभाइ, साथीसङ्गी सबैलाई छोडेर माइतीबाट गह्रौँ मन बनाएर पुनःघर फर्किनुहुन्थ्यो आमाहरु ।”

राधिका, दुर्गा र मिना तीनैजनालाई अहिलेको तीज मनाउने प्रचलन पटक्कै मन परेको छैन । यो बीचमा आएका निकै उतारचढावले संस्कृतिमा पारेको प्रभावबारे जानकार उनीहरु यसबारे चिन्ता गर्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न, लाइक सङ्कलन गर्न र कमेन्ट हेर्न रुचाउनेहरुको भिडले संस्कृति जोगाउन नसकेको उनीहरुको तर्क छ । 

वाल्मिकी क्याम्पसकी उपप्राध्यापक तनुजा दाहाल तीज मनाउने तरिका वा समय लामो देखिए तापनि आफन्तको बीचमा हुने भेटघाट र मनोरञ्जन आदानप्रदानबाट मानसिक तनाव न्यूनीकरण गर्न मद्दत गरेको बताउनुहुन्छ ।

तीज मनाउने प्रचलनमा देखिएको भिन्नताबारे उपप्राध्यापक दाहाल भन्नुहुन्छ, “परिवारको विस्तृतीकरण, आर्थिक सम्पन्नता, नारीहरुको कार्यव्यस्तता आदि कारणले तीज प्रचलनमा फरकपना देखिएको हो ।” धर्म र पर्वको सही प्रयोग गर्नसके संस्कार र संस्कृतिको वास्तविक सम्मान, संरक्षण र सम्वद्र्धन हुनसक्ने दाहालको भनाइ छ ।