close

महाभारतका ३ विद्यालय निर्माणको काम अलपत्र

महाभारतका ३ विद्यालय निर्माणको काम अलपत्र

Trulli
फाइल फोटो
ADVERTISEMENT

काभ्रे- पछिल्ला केही वर्षदेखि दुर्गम मानिएका काभ्रेपलाञ्चोकको दक्षिणी महाभारत पर्वत श्रृङ्खला पारी पूर्वाधारलगायत विकासमा बजेट विनियोजन गर्न थालियो । बजेट आएपछि प्रक्रियागत ढङ्गबाट विशेषगरी विद्यालय भवन, सडक र पक्की पुलका निर्माण थालिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम गा‍उँपालिका महाभारतमा सुरु गरिएका पूर्वाधार विकासका काम हाल अलपत्र अवस्थामा रहेको पाइएको छ । 

महाभारत गाउँपालिकामा भूकम्पपछिको पुनःर्निर्माणअन्तर्गत निर्माण सुरु गरिएका तीन विद्यालय भवनको काम अलपत्र परेको छ  । एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा डिआरएसपी–३ अन्तर्गत पुनर्निर्माण सुरु गरिएका ती विद्यालय भवन निर्माणको काम अलपत्र परेको हो । डिआरएसपी–३ अन्तर्गत महाभारत गाउँपालिका–१ को गोकुल मावि, वडा नं २ कुपिन्टारस्थित कालीदेवी मावि र वडा नं ८ घर्तीछापस्थित जनकल्याण माविको भवन पुनर्निर्माण सुरु गरिएको थियो ।
 
हाभारत गाउँपालिकामा रहेका तीन वटा विद्यालय भवन पुनर्निर्माणका लागि २०७८ साल कात्तिक ५ गते केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपियुआई) र टिडिआई–आशिष निर्माण सेवा जेभीबिच सम्झौता भएको थियो । डेढ वर्षभित्र विद्यालय भवन निर्माणको काम सम्पन्न गर्ने सहमति भए पनि सम्झौता भएको दुई वर्ष बितिसक्दा हालसम्म कुनै पनि विद्यालयको काम ६० प्रतिशतभन्दा माथि हुन सकेको छैन । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका इन्जिनियर अशोक अधिकारी एशियाली विकास बैङ्कको ऋण सहयोगमा डिआरएसपी–३ अन्तर्गत पुनःर्निर्माण सुरु गरिएका विद्यालय निर्माणमा ढिलाइ भएको बताउछन् । 

उनका अनुसार डेढ वर्षमा सक्नुपर्ने काम नसकिएपछि निर्माण व्यवसायीलाई मार्च अन्तिम अर्थात् चैत १८ गतेसम्मको म्याद दिइएको छ । “निर्माण व्यवसायीलाई मार्च महिनाभित्र काम सम्पन्न गर्ने ताकेता गरेका छौँ, निर्माण व्यवसायीबाट मार्च महिनाभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ, यदि मार्च महिनाभित्र काम सम्पन्न नगरेको खण्डमा कानुनबमोजिम कारबाही गर्ने छौ,” इन्जिनियर अधिकारीले भन्छन् । विद्यालय भवन निर्माणको कामका विषयमा एडीबीलेसमेत ताकिता गरिरहेको छ । ईन्जिनियर अधिकारीले निर्माण व्यवसायीले हालसम्म गोकुले माविको ६० प्रतिशत, जनकल्याण माविको ५५ प्रतिशत र कालीदेवी माविको ३८ प्रतिशत काम सम्पन्न गरेको प्रतिवेदन बुझाएको बताए । उनले निर्माण व्यवसायीले अन्यन्त्र जिल्लामा लिएको विद्यालय पुनर्निर्माणको काम सकिएकोले अब महाभारतमा निर्माण भइरहेका विद्यालयको काम गर्ने प्रतिबद्धता गरेको बताए । 

पछिल्लो एक वर्षदेखि विद्यालय भवनको काम अलपत्र रहेको गोकुले माविका प्रधानाध्यापक पदमप्रसाद तिमल्सिना बताउछन् । उनले विगत एक वर्षदेखि विद्यालय निर्माणको काम नहुँदा विद्यालयका लागि आवश्यक पर्ने खेल मैदानसमेत अभाव भएको बताए । उनले कक्षाकोठा पर्याप्त नहुँदा साना कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता रहेको बताए । 

निर्माण व्यवसायी टिडिआई–आशिष निर्माण सेवा जेभीले नौ करोड एक लाख लागत स्टिमेट रहेको गोकुले माविमा पाँच करोड ७६ लाख, नौ करोड आठ लाख लागत स्टिमेट रहेको जनकल्याण माविमा पाँच करोड ७७ लाख र १० करोड ७८ लाख लागत रहेको कालीदेवी माविमा छ करोड ७८ लाखमा ठेक्का हालेको थियो । निर्माण व्यवसायीले हालसम्म गोकुले माविको कामबापत दुई करोड ४६ लाख, जनकल्याणको कामबापत दुई करोड ४९ लाख र कालीदेवीको कामबापत एक करोड ७२ लाख रकम भुक्तानी लिएको केन्द्रीय आयोजना कार्यान्वय एकाइले जनाएको छ् ।

त्यस्तै महाभारत गाउँपालिकाको तिनखुट्टे–देवीटार सडक खण्डको ८.७ किलोमिटर सडकखण्ड निर्माण करिब डेढ बर्षदेखि अधुरो अवस्थामा रहेको छ । कालोपत्रे गर्नेकार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ । निर्माण व्यवसायीको लापर्वाही तथा ढिलासुस्तीका कारण वर्षातका समयमा चार महिनासम्म सो सडक अवरुद्ध बनेको स्थानीयले बताएका छन् । 

विसं २०७९ असार मसान्तसम्म अवधि रहेको सो सडकखण्ड निर्माणको ठेक्का लिएको श्रेष्ठ सक्षम जेभी कम्पनीलाई पटक–पटक मौखिक र लिखित रुपमा ताकेता गर्दा वेवास्ता गरेको गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बाले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय तथा पूर्वाधार विकास कार्यालयलाई पनि जानकारी गराइएको थियो । मङ्गलटर–चारकिल्ला–तिनखुट्टे–बनखु सडक आयोजनाको २०७७ असोज २० गते बाग्मती प्रदेशका तत्कालीन मन्त्री रामेश्वर फुँयालले तिनखुट्टेमा शुभारम्भ गरेका थिए । 

सडक अभावमा विकट मानिएको महाभारत गाउँपालिकाको तिनखुट्टे–देवीटार सडक खण्ड स्तरोन्नतिसहित कालोपत्रेका लागि ४९ करोड बजेट विनियोजन गरिएको थियो । म्याद सकिँदासम्म यस आयोजनको ५० प्रतिशत निर्माण कार्य भएको जनाइयो । यस सडक खण्डको स्तरोन्नतिअन्तर्गत नाली निर्माण, रिटेनिङ्ग पर्खाल, ग्याबिन पर्खाल, कजवे, कल्भर्टलगायतका संरचनासँगै ३० एमएमको कालोपत्रे गरिने योजना बनाइएको थियो । यी सडकहरु निर्माण सम्पन्न भएपछि महाभारत क्षेत्रको विकास र समृद्धिमा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।