close

नागरिकको प्यास मेटाउँदै पोखरा महानगर

नागरिकको प्यास मेटाउँदै पोखरा महानगर

Trulli
ADVERTISEMENT

कास्की - घना वस्ती, महानगर त्यसमा पनि पर्यटकीय नगरी । पोखरामा वर्षौंदेखिको खानेपानीको सकस अझै अन्त्य हुन सकेको छैन । शुद्ध पिउने पानी यहाँ पाउन मुस्किल छ । 


सधैँजसो धारामा लेदो आउने भएपछि जापान सहयोग नियोग ९जाइका०को ऋण सहयोगमा पानी शुद्धीकरण परियोजना चलिरहेको छ । सबैजसो घरमा पानी पुर्‍याउने गरी यो परियोजनाले काम गरिरहेको छ । तर, यो परियोजनाबाट पनि बञ्चित हुने कतिपय पहाडी क्षेत्रमा पानी पुर्‍याउन पोखरा महानगरले काम गरिरहेको छ ।


अहिले यहाँका तीनवटा वडाका पहाडी क्षेत्रमा पानी वितरण गर्न सराङकोटमा खानेपानी आयोजना निर्माण थालिएको छ । १, २ र १८ नम्बर वडामा पानी पुर्‍याउन आयोजना तयार गर्न लागिएको हो । 


तीन करोड ११ लाख रुपैयाँ लागतमा महानगरले करिब दुई हजार घरधुरीमा पानी वितरण गर्ने गरी काम थालेको छ । यसमा महानगरको दुई करोड ५५ लाख र खानेपानी संस्थानको ५५ लाख रुपैयाँ लगानी पर्छ । आयोजनाको शनिबार नगरप्रमुख मानबहादुर जीसीले शिलान्यास गरे । 


नगरप्रमुख जीसीका अनुसार आयोजना यही आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य छ । पाइप लाइन विस्तार गर्न र ट्यांकी निर्माणका लागि दुईवटा छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिइएको छ । पाइप लाइन विस्तार र ७५ हजार लिटर क्षमताको ट्यांकी निर्माणको जिम्मा चितवनको कृपा कन्स्ट्रक्सनले पाएको छ भने अर्को पाँच लाख लिटर क्षमताको ट्यांकी पोखराको पराजुली सावित्री नौघरे जेभीले बनाउनेछ । 


नगरप्रमुख जीसीले महानगरका नागरिक सामान्य पूर्वाधारबाट पनि बञ्चित हुँदा संघीयतामाथि नै प्रश्न उठ्ने बताए । ‘जनताले कर तिरेका छन् । महानगरमा बस्नेहरूले नै पानी पिउन पाएनन् भने यो कस्तो महानगर रु’, उनले भने, ‘अब कोही पनि विकासका पूर्वाधारबाट बञ्चित हुनुपर्दैन । नागरिकले तिरेकै करबाट विकास गाउँगाउँ पुग्छ ।’


महानगर बन्दा तत्कालीन समयमा पोखरामा गाभिएका साविकका गाविसहरूको विकासमा बढी जोड दिइएको उनले सुनाए । यी वडाहरूमा सडक र खानेपानीको समस्या बढी छ । जीसीका अनुसार तत्काल एक हजार घरधुरीमा पानी वितरण गर्ने र आवश्यकताअनुसार दुई हजारसम्म विस्तार हुनेछ । 


पोखरा( १८ का अध्यक्ष रणबहादुर थापाले खानेपानी आयोजना महानगरको गौरवको आयोजना भएकाले समयमै सक्न ठेकेदारको ध्यानाकर्षण गराए । पोखरा( १ की अध्यक्ष शारदा पराजुली यो आयोजनाले तिर्खाएकाहरूको प्यास मेटाउने भएकाले निर्माणमा कञ्जुस्याइँ नगर्न सुझाउँछिन् । 


पोखरा( २ का अध्यक्ष रामेश्वर मल्लले पानी वितरणको सहज पहुँचमा ध्यान दिन आग्रह गरे । ठेकेदारले सम्झौता मितिमै काम सम्पन्न गर्ने दाबी गरेका छन् । मिरुवास्थित खानेपानी ट्यांकीबाट पानी लिफ्टिङ गरी लामागाउँमा अर्को ट्यांकी बनाएर पानी सप्लाई गर्ने नगरको योजना छ ।