close

काकाकुल बेल्टारबासीलाई सोलार पम्पको पानी

काकाकुल बेल्टारबासीलाई सोलार पम्पको पानी

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरमै पहिलो पटक नवीकरणीय तथा सौर्य ऊर्जाद्वारा चौदण्डीगढी नगरपालिकास्थित श्रीपञ्चमी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा आएको छ । खानेपानी समस्याले काकाकुल बन्दै आएको बेल्टारबासीका लागि यो आयोजना सञ्चालनपछि राहत मिलेको छ । 

 

खानेपानी तथा सरसफाइ डिभिजन इकाइ कार्यालय उदयपुरले चौदण्डीगढी नगरपालिका-७ श्रीपञ्चमीस्थित द्वारखोला किनारामा जिल्लामै नयाँ सम्पवेल प्रविधिद्वारा स्वच्छ खानेपानी आयोजना निर्माण गरेको हो । 


चौदण्डीगढीको समन्वयमा खानेपानी तथा ढल निकास विभागबाट श्रीपञ्चमी खानेपानी तथा सरसफाइ योजनालाई सोलार प्यानल जडान गरी सौर्य ऊर्जाको माध्यमबाट सोलार पम्पिङ सिस्टमले जमिनमुनिको पानी तान्ने उदयपुरमै पहिलो तथा नौलो प्रविधि हो । 


विभागले ७५ सोलार प्यानल जडानमार्फत १५ किलोवाट सौर्य ऊर्जा उत्पादन गरी पानी तान्ने काम गरेको खानेपानी तथा सरसफाइ डिभिजन इकाइ उदयपुरका प्रमुख सत्यनारायण साहले जानकारी दिए । 


‘सोलार प्लानलबाट प्रतिसेकेन्ड २० लिटरका दरले सम्पवेलबाट ५० मिटरमाथि १ किलोमिटर २ सय मिटर टाढाको भण्डार ट्यांकीमा पानी आपूर्ति गर्छ,’ साहले भने, ‘त्यहाँबाट १२ सय मिटर टाढा ८ लाख मिटर क्षमताको ४ वटा ट्यांकीमा पानी भण्डार भई वितरण गरिरहेको छ ।’

 

बेल्टार बजारले लामो समय खानेपानी अभाव भोग्दै आए पनि यहाँ निर्माण गरिएका अधिकांश आयोजना निस्प्रभावी थिए । यो प्रविधिले भने बेल्टारबासीमा आशा जगाएको छ । खानेपानी आयोजना सञ्चालनपछि बेल्टारबासीलाई पानीको समस्या झेल्नु नपरेको श्रीपञ्चमी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर श्रेष्ठले बताए । 

 

आयोजनाले बेल्टार बजारमा १ हजार ३ सय घरधुरीमा धारा जडान गरी पानी वितरण गर्दै आएको छ । आयोजनाबाट बेल्टार बजारका १७ हजार २२ घरपरिवार लाभान्वित भएको खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख साहले बताए ।

 

‘२ हजार घरधुरीमा धारा जडान गर्ने लक्ष्य छ । ३ करोड ५२ लाख लागतमा निर्माण भइरहेको सो क्रमागत आयोजनामा हाल ३ करोड रुपैयाँ खर्च भइसकेको छ’, प्रमुख साहले भने । बाँकी काम चालू आर्थिक वर्षमा सकिने उनले बताए । 

 

आयोजनामा १० किलोमिटर पाइप लाइन विस्तार भइरहेको र सम्पवेल तथा अपरेटर घर संरक्षणका लागि पर्खाल निर्माण गरिसकिएको छ । सोलार पम्पिङ प्रणालीले २४ सै घन्टा खानेपानी आपूर्ति गर्न सकिने इन्जिनियर साह सुनाउँछन् । ‘दिनभर सोलारले पानी तान्छ । रातीका लागि बिजुलीले पानी तान्ने भएपछि अब बेल्टारबासीलाई पानीको समस्या हुँदैन’, साहले भने ।

 

खानेपानीको मुहानै द्वारखोला किनारमा रहेकाले हिउँदमा समेत पानीको समस्या नहुने र बर्खामा बाढी आउँदा पनि सम्पवेल प्रविधि जडान गरिएकाले नागरिकले शुद्ध खानेपानी उपभोग गर्न सक्ने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयोजना सञ्चालनपछि बेल्टारबासीको खानेपानी समस्या सधैंका लागि टरेको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राई बताउँछन् ।

 

उनले भने, ‘खानेपानी आयोजना निर्माणले बेल्टारबासीलाई राहत मिलेको छ । आयोजनालाई दिगोपन दिन उपभोक्ता नै जागरुक हुनुपर्छ । पानी वितरणलाई व्यवस्थित गर्न हेरालु राख्न नगरपालिकाले सहयोग पुर्‍याउँछ ।’