close

कमलामाईमा युवा स्वरोजगार कार्यक्रम

कमलामाईमा युवा स्वरोजगार कार्यक्रम

Trulli
ADVERTISEMENT

सिन्धुली- व्यवसाय सञ्चालन गर्दै गरेका युवाहरूको व्यवसाय थप व्यवस्थित गर्न कमलामाई नगरपालिकाले बिनाधितो ऋण उपलब्ध गराउन सुरु गरेको छ । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत पहिलो चरणमा ६ जना युवालाई बिनाधितो ऋण दिएको हो ।


कमलामाईका नगरप्रमुख खड्गबहादुर खत्रीले पहिलो चरणमा छनोट भएका ६ जना युवा व्यवसायीलाई बिनाधितो ऋण दिएर कार्यक्रम शुभारम्भ गरे ।


नगरपालिकाका १४ वटै वडाबाट आवेदन परेका ५ सय ३७ जना व्यवसायीमध्ये ७ वटा वडाका २१ जना ऋण लगानीका लागि छनोट भएका थिए । छनोटमा परेकामध्ये नगर युवा स्वरोजगार ऋण लगानी समितिले गरेको अनुगमनका आधारमा वडा नम्बर ७, ८ र ९ का ६ जना युवा व्यवसायीलाई कमलामाईले लगानी गरेको नगरप्रमुख खत्रीले जानकारी दिए ।

 

व्यवसायीलाई दिएको उक्त ऋण २ वर्षमा फिर्ता गर्नुपर्नेछ । ‘पहिलो ५ महिनासम्म कुनै किस्ता फिर्ता गर्नुपर्दैन भने छैटौँ महिनादेखि हरेक महिना किस्ता तिर्दै जानुपर्ने प्रावधान रहेको छ’, उनले भने ।


समयमा किस्ता नबुझाउनेका लागि भने १० प्रतिशत जरिमाना लिने गरी सम्झौता गरिएको छ । गत वर्ष युवा स्वरोजगारका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त रकममध्ये बढीमा ५ लाख रुपैयाँ प्रतिव्यक्ति लगानी गर्ने गरी परिचालन गर्ने व्यवबस्था मिलाइएको खत्रीले बताए ।


पहिलो चरणमा नगर स्वरोजगार कोषबाट बिनाधितो ऋण पाउनेमा ज्ञानकुमारी कार्की, पार्वती रुम्बा, मिठु वाइवा, उजेलीमाया स्याङतान, गोविन्द गौतम र उर्मिला बस्नेत छन् । उनीहरूले व्यवसाय सञ्चालनका लागि १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म ऋण प्राप्त गरेका छन् ।