close

घाँसको आशमा सखाप हुँदैछन् सामुदायिक वन

घाँसको आशमा सखाप हुँदैछन् सामुदायिक वन

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुराका सामुदायिक वन डढेलोले सखाप पारिरहेको छ । सुक्यायाम र गर्मी मौसमसँगै डडेल्धुराका करिब दर्जन बढी सामुदायिक र सल्लेरी वनमा डडेलोे लागेको जिल्ला वन कार्यालयले जनाएको छ । 

 

जिल्लाका ७ वटै स्थानीय तहमा रहेका सामुदायिक, सल्लेरी वन तथा महाभारत र चुरे क्षेत्रमा समेत डढेलो लागेको वनकर्मीहरू बताउँछन् ।

 

स्थानीय उपभोक्ताको लापरवाहीका कारण जंगलमा बढी आगलागी हुने गरेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताए ।

 

अत्यधिक गर्मी बढ्नु र वनमा चोरी सिकारी गर्ने व्यक्ति तथा गोठालाको लापरबाहीका कारण डढेलो लागेको उनले जानकारी दिए । चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरवाहीपूर्ण तरिकाले आगो लगाइदिँदा वनमा डडेलो लाग्ने गरेको कतिपयको बुझाइ छ ।

 

‘नयाँ घाँस पलाउने भन्दै सामुदायिक वनका उपभोक्ताले आफैं डढेलो लगाउने गर्छन् । घाँस काट्नका लागि उपभोक्ताले आगो लगाउने गर्छन् । त्यही आगो सुक्खा मौसमका कारण नियन्त्रणमा ल्याउन नसक्दा वन विनास हुने गर्छ’, उनले भने ।

 

गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउने तर अत्यधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसक्दा वन विनास हुने गरेको परशुराम नगरपालिका वडा नम्बर ७ का मोहन सिंहले बताए । 

 

आगो हावाका कारण नियन्त्रण गर्न नसकिने भएकाले भर्खरै हुर्किइरहेका बुट्यान तथा जंगली जनावरको समेत मृत्यु हुने गरेको उनले सुनाए । हरेक वर्ष डिभिजन वन कार्यालयले आगलागीका जनचेतनामूलक कार्यक्रम गरिरहे पनि वनमा डढेलो लागेको वन अधिकारीहरूको भनाइ छ । 

 

डिभिजन वन कार्यालय डडेल्धुराको तथ्यांकअनुसार जिल्लाको कुल भूभागको ७५ प्रतिशत बढी क्षेत्रफल वनजंगल छ । १ लाख ५३ हजार ८ हेक्टरमध्ये १ लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा वनजगंल रहेको छ । बर्सेनि डडेल्धुराका ५० प्रतिशत वढी वनमा डढेलो लाग्ने गर्दछ ।


डढेलोले खानेपानीको पाइप जल्दा खानेपानीको हाहाकार

 

डडेल्धुराको परशुराम नगरपालिकाको वनमा लागेको आगोले खानेपानीको पाइप जलाउँदा खानेपानीको हाहाकार भएको छ । 

 

नगरपालिकाको वडा नम्बर ७ घुम्तेगडास्थित  शितल सामुदायिक वनमा आगलागी हुँदा खानेपानीको हाहाकार भएको सिद्ध खानेपानी उपभोक्ता समितिका अध्यक्ष दानबहादुर साउदले बताए ।

 

उनका अनुसार गाउँका करिब ४० घरधुरीमा पानीको समस्या भएको छ ।  खानेपानी आयोजनाको ४ सयदेखि ५ सय मिटर पाइप जलेको उनले जानकारी दिए ।