close

कालाेबजारी गर्ने तरकारी पसललाई जरिमाना 

कालाेबजारी गर्ने तरकारी पसललाई जरिमाना 

Trulli
ADVERTISEMENT

बाँके- बाँकेको नेपालगञ्ज उपमहानगरको उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं उपप्रमुख उमा थापा मगरको नेतृत्वमा बजार अनुगमन गरिएको छ ।

 

उपमहानगर प्रमुख थापा मगर सम्मिलित टोलीले वडा नम्बर १२ सुर्खेत रोडस्थित नसिम जसगढ, ढोडे मुखिया र इरफान राईले सञ्चालन गरेको तरकारी पसल, त्रिभुवन चोकस्थित अकरम तरकारी पसल, रानीतलाउस्थित सान अर्डर सप्लायर्स, एमएमआर अर्डर सप्लायर्स र रानीतलाउस्थित कृषि उपज बजार निरीक्षण तथा अनुगमन गरेको हो ।

 

बजार अनुगमनका क्रममा तरकारी मण्डीमा दर्ता, नवीकरण, मूल्य, गुणस्तर, आपूर्ति र उपलब्धताको विषयमा समितिले बजार अनुगमन गरेको हो ।

 

अनुगमनका क्रममा दर्ता नवीकरण नभएका पसललाई दर्ता गर्न, प्रमाणित गरेर मात्र नापतौल मेसिन प्रयोग गर्न, खरिद बिल र मौज्दातको विवरण राख्न, मूल्यसूची, दर्ता प्रमाणपत्र र साइन बोर्ड टाँस्न, बिक्री बिल जारी गर्न, सरसफाइ कायम राख्न निर्देशन दिइएको छ ।

 

अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने २ वटा तरकारी पसल त्रिभुवन चोकस्थित अकरम तरकारी पसल र रानीतलाउस्थित सान अर्डर सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ १ (क)बमोजिम चेतावनीस्वरूप तत्काल जनही २० हजार रुपैयाँ जरिमानासमेत गरिएको छ । 

 

शुक्रबार गरिएको बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख निरीक्षण अधिकृत कृष्णप्रसाद पौड्याल, नेपालगञ्ज उपमहानगर उपभोक्ता हित संरक्षण समिति सदस्य सचिव दीपेन्द्र श्रेष्ठ, कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकाल, उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष वसन्त गौतम, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी सहायक निरीक्षक देवबहादुर खड्कालगायतको सहभागिता थियो । 

 

नेपालगञ्जमा कोभिड-१९ को संक्रमण दर वृद्धि भई लकडाउन भइरहेको अवस्थामा मौका छोपी कालो बजारी वा अन्य अनुचित व्यापारिक क्रियाकलाप नगर्न उपप्रमुख थापा मगरले आग्रह गरिन् ।

 

व्यवसाय सञ्चालनका क्रममा कुनै व्यवसायीलाई ढुवानीमा समस्या भए तथा उपभोक्ता हितविपरीत कालो बजारी गर्ने र उपभोक्ता ठगीका घटना भए सम्बन्धित निकाय वा प्रहरी कार्यालयमा उजुरी गर्नसमेत उनले आग्रह गरिन् ।


साथै, उपभोक्ताले सामान खरिद गर्दा स्वास्थ्यका आधारभूत मापदण्ड पालना गर्न, सचेतना अपनाउन र वस्तुको गुणस्तर तथा मूल्य हेरेर मात्रै सामान खरिद गर्न आग्रह गरिएको छ ।