close

नगर विकास कोषको विदुर खानेपानी उपभोक्ता संस्थासँग १ करोड ८८ लाखको ऋण सम्झौता 

नगर विकास कोषको विदुर खानेपानी उपभोक्ता संस्थासँग १ करोड ८८ लाखको ऋण सम्झौता 

Trulli
ADVERTISEMENT

काठमाडौं- नगर विकास कोषले विदुर खानेपानी तथा सरसफाइ आयोजनाका लागि कोषबाट पूर्वस्वीकृत ऋण २० करोड २७ लाखमा १ करोड ८८ लाख रुपैयाँ थप ऋण लगानीका लागि सम्झौता गरेको छ । तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ योजनाअन्तर्गतका २० वटा आयोजनाको लागत ८८ करोड रुपैयाँ छ ।


कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नारायणबहादुर खनालबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।


यो आयोजनामा भएको भेरिएसन र मूल्य समायोजनका कारण बढेको थप लागत ७ करोड ५३ लाख रुपैयाँको २५ प्रतिशत रकम कोषको तर्फबाट ऋण, सरकारबाट ७० प्रतिशत अनुदान र ५ प्रतिशत उपभोक्ता संस्थाबाट बेहोरिनेछ ।


पहाडी भू–बनोटको फलाखु खोला स्रोत रहेको यो आयोजना निर्माण तथा सञ्चालनका क्रममा आएका विविध चुनौती पार गर्दै अगाडि बढेको आयोजनालाई समयमै सम्पन्न गर्ने उद्देश्यले थप ऋण सम्झौता सम्पन्न गरिएको हो । 


आयोजनामा गरिएको थप लगानीले समयमै योजना सम्पन्न भई सम्बन्धित आयोजना क्षेत्रका उपभोक्तालाई सहज ढंगबाट खानेपानी सेवा प्राप्त हुने तथा ऋण असुलीमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा कोषको छ । कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्षले आयोजनाबाट भरपर्दो खानेपानी सेवाग्राहीको घरघरमा पुर्‍याइने बताए ।


कार्यकारी निर्देशक सापकोटाले खानेपानी उपभोक्ता संस्था र कोषबीचको २० वर्षसम्मको सम्बन्धलाई प्रकाश पार्दै आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि निरन्तर प्राविधिक तथा व्यवस्थापकीय सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।