close

जुटपानी सह-लगानी खानेपानी आयोजनामा कोषको ऋण सम्झौता 

जुटपानी सह-लगानी खानेपानी आयोजनामा कोषको ऋण सम्झौता 

Trulli
ADVERTISEMENT

काठमाडाैं- नगर विकास कोषले चितवनको कालिका नगरपालिकामा सञ्चालन हुने जुटपानी सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनामा ४ करोड ७८ लाख ६० हजार रुपैयाँको ऋण सम्झौता गरेको छ ।


खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक १९ करोड १४ लाख ४३ हजार रुपैयाँको २५ प्रतिशतले हुने रकम ४ करोड ७८ लाख ६० हजार रुपैयाँ कोषले ऋण लगानी गर्नेछ ।


कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र जुटपानी खानेपानी तथा सरसफाइ संस्थाका उपाअध्यक्ष झलकबहादुर आलेबीच ऋण सम्झौता भएको हो । 


यो आयोजनामा सरकारबाट ७० प्रतिशत अनुदान, कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने प्रावधान छ ।


आयोजनाले कालिका नगरपालिका चितवनका वडा नम्बर १, २ र ३ का सम्पूर्ण क्षेत्र र ६, ७, र ८ का केही क्षेत्रका १९,३६९ जनसंख्यालाई ४ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य छ । 


सम्झौता कार्यक्रममा जुटपानी खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्षले आयोजनालाई समयमै सम्पन्न गरिने बताए । 


ऋण सम्झौतामा जमानतकर्ताको रूपमा हस्ताक्षर गरेका कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले आयोजनालाई नमुनाको रूपमा सफल बनाउन नगरपालिकाबाट प्राविधिक, व्यवस्थापकीयलगायत पक्षबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजना समयमै गुणस्तरीय रूपमा सम्पन्न भई उपभोक्तालाई सहज ढंगबाट खानेपानी सेवा प्रवाह गर्न सफल हुने विश्वास व्यक्त गरे ।