close

विपन्नलाई स्वरोजगार बनाउँदै फिक्कल (भिडियो खबर)

विपन्नलाई स्वरोजगार बनाउँदै फिक्कल (भिडियो खबर)

ADVERTISEMENT

सिन्धुली- गाउँ घरमा नै केही काम गरेर पैसा कमाउने रहर कसको पो नहोला ? परिवारका सदस्यसँगै बसेर स्वरोजगार भई आयआर्जनको बाटोमा हिड्ने धेरैका सपना हुन्छ । कुनै पनि व्यवसाय गर्न हातमा सिपको आवश्यकता पक्कै पर्दछ । तर, यस्ता सिपको खोजीमा रहेका नागरिकलाई सिन्धुलीको फिक्कल गाउँपालिकाले गाउँ घरमा नै पुगेर स्थानीयले माग गरे अनुसारको सिप प्रदान गरेको छ ।

 

पहिलो चरणमा लिएको सिपले स्थानीय अब स्वरोजगारका योजना बुन्न थालेका छन् । भनिन्छ, हातमा सिप हुनेलाई एक छाक खान कसैसँग हातमुख जोड्नुपर्दैन । सिपका माध्यमले आय स्तर माथि उकास्न सकिन्छ । यसै अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीको फिक्कल गाउँपालिकाले विपन्न नागरिकको जीवनस्तर उकास्न स्थानीयको माग अनुसार सिप प्रदान गरेपछि स्थानीय स्वरोजगार हुने योजना बनाउन थालेका छन् । अब घरैमा बसेर पैसा कमाउन सकिने दावी स्थानीयको छ ।

 

सिपका माध्यमबाट पिछडिएका महिलाको अबको दैनिकी परिवर्तन हुने अपेक्षा गरिएको छ । ४५ दिनमा लिईएको सिलाई कटाई तालिमबाट महिला अब आवश्यक पर्ने सबै कपडा सिलाउन सक्ने भएका छन् । अब आफै व्यवसाय गर्न सक्ने क्षमता उनीहरूमा विकास भएको छ । 

 

विगतमा एक जातीको मात्र पेशाको रूपमा लिईएको सिलाई कटाई पेशा हिजोआज धेरैको रोजाईमा पर्दै आएको छ । सिलाई कटाईका माध्यमबाट रोजगारी सिर्जना गर्ने स्थानीय सरकारको योजना साकार हुने अपेक्षा पालिकाको छ भने सिपको सबैले सदुपयोग गर्नु पर्ने स्थानीयको भनाइ छ ।

 

गाउँपालिकाले सिप सिकेकाहरु समूहमा आवद्ध भएर आएमा व्यवसाय सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा सामूहिक सरोकार समाज सिन्धुलीले १ सय ६० जनालाई सिप सिकाएको छ ।

 

गाउँपालिकाले अल्लोबाट कपडा बनाउने, मोटरसाइकल मर्मत, सिलाई कटाई, जडीबुटी खेती, बाँस जन्य सामग्री निर्माण, बाख्रापालन जस्ता तालिम संचालन गरि विपन्न नागरिकलाई व्यवसाय सम्बन्धी ज्ञान हासिल गराएको छ । तर, हातमा सिप सिकेर बसेका नागरिकले पनि पालिकको लक्ष्य पूरा गर्न सिपको सदुपयोग गर्न आवश्यक छ ।