close

असोजसम्म मुगुका सबै खाद्य डिपो रित्तिने संकेत

असोजसम्म मुगुका सबै खाद्य डिपो रित्तिने संकेत

Trulli
ADVERTISEMENT

मुगु- हिमाली जिल्ला मुगुमा सञ्चालित सबै डिपो कार्यालय तथा बिक्री केन्द्र असोजसम्म रित्तै हुने भएका छन् । मुगुमा सञ्चालित पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र खत्याड, रातापानी बिक्री केन्द्र खत्याड र कालै बिक्री केन्द्र गरी ५ वटा डिपो तथा बिक्री केन्द्र असारदेखि असोजसम्म रित्तै हुने भएका हुन् । 


डिपो केन्द्रमा ठेक्का प्रक्रियाका लागि टेन्डर आह्वान भइसकेको र २१ साउनसम्म टेन्डर आह्वानका लागि अन्तिम मिति रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मुगुले जानकारी दिएको छ । डिपो केन्द्रबाट वितरण भइरहेको चामल अहिले नै सकिएपछि ती डिपो कार्यालय रित्तै भएका हुन् । अहिले पुलु डिपो केन्द्रमा मात्र २ सय क्विन्टल चामल मौज्दात छ ।


उक्त चामल पनि गाउँपालिकाले खरिद गरेको हो । त्यो चामलसकिने अवस्थामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय मुगुका सूचना अधिकारी पुष्कर भामले बताए । शाखा कार्यालय गमगढी बजारमा अहिले २ सय ४ सय क्विन्टल चामल मौज्दात छ । डिपो केन्द्रमा चामल सकिएपछि शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राहीको दैनिक भीड लाग्ने गरेको छ । 


अहिले दैनिक रूपमा २ सय क्विन्टसम्म सदरमुकामलगायत टाढा–टाढाबाट चामल लिन आउने गरेको उनले जानकारी दिए । उनले भने, ‘सदरमुकाम गागढीमा रहेको शाखा चामल थोरै छ । आवश्यकताअनुसार स्थानीयलाई पुर्‍याउन सकिएको छैन ।’ 


अन्य जिल्लाभन्दा मुगुमा टेन्डर प्रक्रियाको काम पनि अगाडि बढ्न सकेको छैन । टेन्डर फाराम पनि जिल्ला आइपुगेको छैन । फाराम आइपुगेपछि टेन्डर प्रक्रिया अगाडि बढ्ने र सबै डिपो कार्यालय, बिक्री केन्द्रमा चामल मागेजति पुग्ने भामले बताए । डिपो केन्द्र खाली भएपछि सेवाग्राही रित्तो हात लिएर घर फर्कने गरेका छन् ।


खत्याडको रातापानीमा रहेको बिक्री केन्द्र १ वर्षदेखि रित्तै छ । त्यहाँ खाद्यान्न पुर्‍याउन प्रादेशिक कार्यालय सुर्खेतमा ठेक्का प्रक्रिया र चामल ढुवानीका लागि शाखा कार्यालय मुगुमा पटक-पटक पत्र काट्दासमेत सुनुवाइ भएको छैन ।