close

२२ दिनपछि बैतडीका लेन्थवर्करले तोडे अनसन (भिडियो खबर)

२२ दिनपछि बैतडीका लेन्थवर्करले तोडे अनसन (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- पारिश्रमिक प्राप्त हुने आशमा श्रमिक मन लगाएर काम गर्छ । काम दिनेले महिना मर्ने वित्तिकै तलब देला भन्ने उसको अपेक्षा हुन्छ ।  यिनै तमाम प्रश्नको उत्तर नपाउँदा अन्ततः श्रमिक आन्दोलन गर्न बाध्य हुन्छ । २१ महिनादेखि यस्तै समस्या भोग्दै आएपछि बैतडीको पाटन नगरपालिकाका सडक मजदुर अनसनमा बसे ।

 

२२ दिनदेखि निरन्तर अनसनमा बसेका उनीहरूले पारिश्रमिक पाउने गरी सरोकारवालाले प्रतिबद्धता जनाएपछि अहिले अनसन तोडेका छन् । असार १८ देखि २१ महिनादेखिको पारिश्रमिक भुक्तानी गर्न माग गर्दै बैतडीमा अनसन बसेका १२  जना लेन्थवर्करहरु (सडक मजदुरहरु) ले बुधबार अनसन तोडेका हुन् । मजदुरको समस्या समाधानका लागि पहल गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएपछि तत्कालका लागि उनीहरूले अनसन स्थगित गरेका छन् । 


लेन्थवर्करका समस्या समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टको संयोजकत्वमा गठित समितिले लेन्थवर्करसंग वार्ता गरेपछि उनीहरुले अनसन तोडेका हुन् । लेन्थवर्करलाई तत्कालका लागि राहत स्वरुप पाटन नगरपालिका र मेलौली नगरपालिकाले डेढ-डेढ लाख रुपैंया प्रदान गर्ने सहमति पनि भएको छ ।

 

पाटन-पञ्चेस्वर सडक अहिले पनि निर्माणाधिन अवस्थामा रहेकाले सम्बन्धित ठेकेदारले उनीहरूलाई काममा लगाउने निर्णय भएको छ । यस्तै, सुदुरपश्चिम प्रदेश सरकारसँग कानुन निर्माण गरि तलव दिन र काममा लगाउन माग गर्ने निर्णय भएको छ । लेन्थवर्करका आन्दोलनमा जिल्ला स्थीत सबै राजनीतिक दल र भातृ संगठनहरुले पनि एक्यवद्धता जनाएका छन् भने समस्या समाधान हुने वचन दिएका छन् । 

 

दुई वर्ष अगाडिसम्म केन्द्र सरकार मातहत रहेको सडक दुई वर्ष अघि प्रदेश सरकार मातहत आएपछि लेन्थवर्करले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । विगतमा हरेक चौमासिकमा तलव पाउने उनीहरूले २१ महिना देखि भने एक रुपैयाँ पनि पाएनन् । तर काम भने गरिरहे । यसरी श्रमको अवलमूल्यन हुने गरी प्रदेश सरकारले दास जस्तो व्यवहार गरेको भन्दै पाटन नगरपालिकाले समेत असन्तुष्टी जनाएको छ । मजदुरको मागप्रति एक्यबद्धता जनाउँदै प्रदेश सरकारसँग पहल गर्ने प्रतिबद्धता समेत नगरपालिकाले जनाएको छ । 

 

अनसनमा बसेका लेन्थवर्करका विषयमा छलफल गर्न बुधबार पाटनस्थित इलाका प्रहरी कार्यालयमा छलफल भएको थियो । छलफलपछि अनसन तोडेका लेन्थवर्करका माग यथावत छन् । अहिलेलाई उनीहरू अनसन तोडी घर गएपनि मागका विषयमा सरोकारवाला निकायले अझै आनाकानी गरेमा आमरण अनसन बस्ने, सडक चक्काजाम गर्ने  सडकमै मर्ने सम्मको चेतावनी दिएका छन् ।