close

कोरोनाबाट बनिबुतो गुमाएकालाई अल्पकालीन रोजगार दिँदै चाँगुनारायण

कोरोनाबाट बनिबुतो गुमाएकालाई अल्पकालीन रोजगार दिँदै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर– सामान्य लेखपढ गरेकी भक्तपुरकी सुनिता पुनारले जीविकोपार्जनका लागि गाउँमै ज्याला मजदुरी गर्दै आएकी थिइन् । कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण उनको आम्दानीको आधार खोसियो । उनी भन्छिन्, ‘कोरोनामा काम पाइएन । पैसा आउने बाटो बन्द भयो ।’ उनीसँगै अनिता पौवाको अवस्था पनि उस्तै छ । ज्याला मजदुरीबाटै परिवार पाल्दै आएकी उनी कोरोनासँगै आम्दानीको स्रोत पनि खोसियो । उनी भन्छिन्, ‘कोरोना भाइरसबाट गाउँमै जसोतसो काम गर्दै आएँ । तर, यस्तो महँगीलाई धान्नै गाह्रो ।’

 

चाँगुनारायण नगरपालिकाले अल्पकालीन रोजगारी व्यवस्था गरेसँगै उनीहरू दंग छन् । उनीहरू भन्छन्, ‘अब केही दिनका लागि रोजगारी पाएका छौँ । दैनिक १ हजार रुपैयाँ पारिश्रमिक पाउन थालियो ।’ पालिकाले कोरोना भाइरसबाट रोजगारी गुमाएका स्थानीयलाई अल्पकालीन रोजगारी सुरु गरेको हो । ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपालसँग सहर्कायमा पालिकाले उक्त कार्यक्रम सुरु गरेको हो । 

 

पालिकाले वडा नम्बर ६ स्थित मुहानपोखरीबाट कार्यक्रम उद्घाटन गरेको छ । कार्यक्रमबाट करिब ३ सय स्थानीयले ४० दिनका लागि रोजगारी पाएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए । उनले भने, ‘रकम थोरै होला तर हाम्रो उद्देश्य रोजगारी गुमाएका परिवारलाई दसैँ खर्च दिनु हो । यो काम गरेबापत पाइनेछ ।’ चाँगुनायण र जीविकोपार्जन पनरुत्थानका लागि दिगो पर्यटन परियोजना एसटिएलआरपी, नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त साझेदारीमा अल्पकालीन रोजगारी दिइएको हो । 

 

मुहान पोखरी–खोलेखेत गडगडे हुँदै नगरकोटस्थित प्राकृतिक पर्यटकीय पदमार्ग निर्माणमा स्थानीयलाई रोजगारी दिइनेछ । नगरकोट क्षेत्रको पर्यटन प्रवद्र्धन र स्थानीयलाई रोजगारी दिने उद्देश्यले सो कार्यक्रम ल्याइएको नगरप्रमुख मिश्रले जानकारी दिए । ६० लाखमध्ये पालिकाले ३० लाख र ३० लाख रुपैयाँ साझेदार संस्थाले बेहोर्नेछन् ।  कार्यक्रमका सुपरभाइजर राजकुमार लामिछानेले छनोटमा परेका स्थानीयले दैनिक ७ घन्टा काम गर्नुपर्ने उनले बताए ।

 

कोरोना महामारीबाट रोजगारी गुमाएका परिवारका सदस्य, महिला, पिछडिएका वर्ग, जनजाति र दलितलाई रोजगार प्रदान गरिनेछ । कार्यक्रममार्फत ५ किलोमिटर सडक निर्माण हुनेछ ।