close

‘तारा खेल’ प्रवर्द्धन गर्दै तमानखोला

‘तारा खेल’ प्रवर्द्धन गर्दै तमानखोला

Trulli
ADVERTISEMENT

बागलुङ । धौलागिरि क्षेत्रमा चर्चित खेलका रुपमा स्थापित ‘तारा खेल’ पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । बागलुङ, म्याग्दी र मुस्ताङमा बढी खेलिने यो खेल एक दशक अगाडि नै लोप हुने अवस्थामा पुगेको थियो । 

पछिल्लो समय आधुनिक शैलीबाट खेल्न थालिएपछि गाउँगाउँमा प्रतियोगितासमेत हुन थालेका छन् । तारा खेलप्रति युवापुस्ताको आकर्षण बढ्दै गएपछि बागलुङको तमानखोला गाउँपालिकाले यस खेललाई ‘पालिका खेल’ घोषणा गरेर प्रवर्द्धन गरिरहेको छ ।

विषेशगरी आदिवासी जनजाति समुदायमा प्रचलित तारा खेल अहिले सबै समुदायका युवा खेल्न थालेका छन् । विभिन्न मेला, महोत्सव र चाडपर्वमा आयोजना हुने तारा खेल अहिले युवा समय बिताउन र मनोरञ्जनाका लागि खेल्न थालेका छन् । निशानामा आधारित तारा हान्ने खेल बागलुङका गाउँदेखि बजारसम्म खेलिन थालेको छ । पहिले यो खेल बढी गाउँमा खेलिन्थ्यो । जिल्लाको ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकामा यो खेल अझ बढी प्रचलित छ । 

रबर टाँसिएको काठको मुढामा अघिल्लो भागमा सेतो, कालो, नीलो र रातो रङको रेखा हुन्छ, त्यसको बीच भागमा अत्यन्तै सानो स्टिल प्लेट राखिएको हुन्छ । त्यही मुढामा रहेको स्टिलको प्लेटलाई छेड्नका लागि आयोजकले निर्धारित गरेको दूरीबाट बाणबाट तारोले बारम्बार हान्ने काम नै तारो हान्ने खेल हो । तारा खेल अङ्कका आधारमा खेलिने खेलाडी बताउँछन् । दुर्लभ खेलमध्येको तारा हान्ने खेल पछिल्लो समयमा युवापुस्ताको जागरुकताका कारण केही प्रवद्र्धन हुन थालेको बागलुङका पुराना खेलाडी पृतराम छन्त्यालले बताए । यो खेल पुर्खौंदेखि खेलिँदै आएको उनको भनाइ छ ।

'तारा खेल ढुङ्गेयुगदेखि सुरु भएको पाइन्छ, त्यस बेलाका मान्छेले जीविकोपार्जनका लागि वन्यजन्तुको सिकार गर्थे रे । सिकार गर्दा धनुष वाणको प्रयोग हुन्थ्यो रे,' छन्त्याल भने, 'अहिले तारा खेल पनि सिकारीले जङ्गली जनावरलाई निशाना बनाए जसरी ताकेर तिर हानिन्छ । जसले निशानामा हान्छ उसैले खेल जित्छ । अहिले पनि यो खेललाई युवाले संरक्षण गरेका छन् । युवाले बेलाबेलामा ठूलो प्रतियोगिता राख्छन् ।'

    पाँच जनाको समूहमा खेलिने उक्त खेलमा सहभागीमध्ये जसले बढी स्टिल प्लेटलाई निशाना लगाउन सक्छ, अङ्कका आधारमा उसैलाई विजेता टोली घोषणा गिरिने गरिन्छ । तारा खेल अन्तर्राष्ट्रियस्तरमा पनि खेल्ने गरिन्छ । खासगरी यो खेललाई आर्चरी खेल भन्ने गरिन्छ । साहसिक खेलप्रति विदेशी पर्यटकको आकर्षण बढी हुने भएकाले यसलाई प्रचारप्रसार गर्न आवश्यक रहेको अर्का खेलाडी प्रेमबहादुर घर्तीमगरले बताए । उनी स्थानीयस्तरमा सीमित भएका यस्ता खेलको प्रवद्र्धन गर्नुपर्ने बताउँछन् ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले यहाँ आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको हुँदा परम्परादेखि नै तारा खेल खेल्दै आएको बताए । तमानखोलामा बढी प्रचलित रहेको हुँदा तारा खेललाई गाउँपालिकाले विसं २०७७ मा ‘पालिका खेल’ घोषणा गरेर हरेक वर्ष ‘तमानखोला तारा खेल कप’ प्रतियोगिता आयोजना गर्दै आएको उनले बताए ।