close

एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला विराट गोल्डकपको फाइनलमा

एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला विराट गोल्डकपको फाइनलमा

Trulli
ADVERTISEMENT

विराटनगर- सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौँ संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

विराटनगरस्थित सहिद रंगशालामा बुधवार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । 

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो सडेनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

सडनडेथमा आशिष चापागाईँ, अविशेक लिम्बु, उमेश कार्की र किरण राईले गोल गरे । सांग्रीलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार  एपीएफका गोलकिपर एन्जल श्रेष्ठ उत्कृष्ट बचाए ।

एपीएफको तर्फबाट दिपेश धिमाल,कुलदिप कार्कीको प्रहार सांग्रीलाका गोलकिपर विशाल सुनारले सानदार तरिकाले बचाउ गरिदिए । एपीएफको तर्फबाट अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरेका थिए । 

सांग्रीलाले उपाधिको लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने बिजेता टिमसँग खेल्नेछ । 

एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज  युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो । 

पहिलो सेमिफाइनलमा एपीएफ र सांग्रीलाले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनल खेलबाट छैटौं संस्करणको विजेता टिम एपीएफ घर फर्कन बाध्य भयो ।

सांग्रीलाका आशिष चौधरीले खेल सुरू भएको १६ औंमिनेटमा गरेको कडा प्रहार एपीएफका गोलकिपर अन्जन श्रेष्ठले उत्कृष्ट बचाए । त्यसलगतै विदेशी खेलाडी स्याङले गरेको प्रहार पनि किपर श्रेष्ठले बिफल पारीदिए ।

एपीएफका अनिष महर्जनले २५औं मिनेटमा डिबक्स भित्रबाट गरेका कडा प्रहार बाहिरियो । ६४ मिनेटमा एपीएफका विदेशी खेलाडी जोनले  गरेको बारमाथिबाट बाहिरियो । 

घरेलु दर्शकको साथ पाएको सांग्रीलाले थुप्रै गोल गर्ने अवसर चुकाउँदा जित हात पार्न सडनडेथ पर्खिनुपर्यो । दोस्रो हाफमको ६५ औं मिनेटमा विदेशी खेलाडी स्याङको प्रहार एपीएफका किपर अन्जन श्रेष्ठले उत्कृष्ट बचाए । थप गरिएको अतिरिक्त समयको १०२ औं मिनेटमा सांग्रीलाका आशिष चापागाइले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर बाहिरियो । 

जितमा सांग्रीलाका गोलकिपर विशाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले निर्धारित र अतिरिक्त समयको आधा दर्जन बढी एपीएफको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई फाइनलको यात्रा गराए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए ।