close

जीतपुर सिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

जीतपुर सिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

Trulli
ADVERTISEMENT

सिमरा- प्रथम जीतपुर सिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट सङ्घले जितेको छ । जीतपुर सिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिवार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट सङ्घलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले शानदार प्रदर्शन गरेको थियो । समूह ‘ए’ विजेता बन्दै फाइनलमा प्रवेश गरेको पर्साले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन जोडेको थियो । 

पर्साका लागि सुरज पटेलले ४५ र हासिम अन्सारीले १० रन बनाउँदा अन्य व्याटरले दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् । पर्सालाई सस्तैमा रोक्ने क्रममा मकवानपुरका अशिम श्रेष्ठले तीन, पियुश शर्माले दुई, विशाल फुयाँल र रोहित ठाकुरले समान एक–एक विकेट लिए । 

पर्साले दिएको ९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मकवानपुरका लागि तक्षक सिम्खडाले ३०, विशाल फुयाँलले १५ र सक्षम बस्ताकोटीले अविजित १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले तीन विकेट लिए ।

उपाधि विजेता मकवानपुरले एक लाख प्राप्त गरेको छ भने उपविजेता पर्साले ५० हजार नगद पाएको छ । यसैगरी मकवानपुरका शुभ कंसाकार प्लेयर अफ दि टुर्नामेन्ट र बेस्टर ब्याटर घोषित भएका छन् भने खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव बेस्ट बलर घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार मकवानपुरका विशाल फुयाँलले प्राप्त गरेका छन् । 

विजेता तथा उपविजेता खेलाडीलाई पूर्व युवा तथा खेलकुद मन्त्री एवम् संविधानसभाका सदस्य पुरुषोत्तम पौडेल, संविधानसभाका सदस्य जयराम दाहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । 

समापन समारोहमा आयोजकले सिमरा महिला क्रिकेट क्लबका पूर्व प्रशिक्षक विष्णु लामिछानेसहित महिला क्रिकेटर, सिमरा क्रिकेट क्लबका पूर्व कप्तान नाजिर हुसेनलाई सम्मानित गरिएको थियो । 

प्रतियोगिता संयोजक सोमलाल बमजनको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा जीतपुर सिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, १३ का वडाध्यक्ष हेमनारायण चौधरी, कार्यपालिका सदस्य अर्जुन रसाइली, जीतपुर सिमरा ३ की कार्यवाहक वडाध्यक्ष माया विक, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाल, एमाले नेता किशोर शर्मा, अमृतलाल श्रेष्ठ, रवीन्द्र खकुरेल, वरुण गौतम, आयोजक अभियान नेपालका संरक्षक त्रिलोकविक्रम शाह, अध्यक्ष लक्ष्मी तिमिल्सिना लगायतको सहभागिता रहेको थियो । 

चैत ३ गतेदेखि सुरु भएको प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए ।