close

भलिबल मैदानलाई रङ्गशाला बनाउने योजना

भलिबल मैदानलाई रङ्गशाला बनाउने योजना

Trulli
ADVERTISEMENT

बागलुङ। बागलुङ नगरपालिका–९ तित्याङमा पालिकास्तरीय आधारभूत रङ्गशाला निर्माणको योजना अगाडि बढाइएको छ । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदान विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा रङ्गशाला बनाउने योजना स्थानीय र पालिकाको पहलमा अगाडि बढाइएको छ । 

बागलुङ बजारमा साँघुरो जग्गाका कारण एक मात्रै बाङ्गेचौर खेल मैदान रङ्गशाला बनाउन बजेट विनियोजन हुँदासमेत रङ्गशाला निर्माणको काम अगाडि बढ्न नसकेपछि आलेखर्क खेल मैदान विकल्पको रङ्गशालाका रुपमा लिन थालिएको छ । बागलुङ नगरपालिकाले एक पालिका एक रङगशालाअन्तर्गत त्यसलाई प्राथमिकतामा राखेको छ । 

राष्ट्रियस्तरका खेल प्रतियोगितमा एउटै खेल मैदानमा प्रतियोगिता गर्न नसकिने भएकाले बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा आलेखर्क खेल मेदानलाई रङ्गशाला निर्माण गर्न हालै मात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइएको छ । झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदान बहुउद्देश्यीय रङ्गशाला निर्माण गर्न थप जग्गा विस्तार गर्न सकिने भएकाले जिल्लाकै ठूलो रङ्गशाला बनाउनसक्ने विकल्प देखिएको आलेखर्क खेल मैदानलाई स्तरोन्नति गर्ने तित्याङ रङ्गशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थापाले जानकारी दिए।  

‘बागलुङ बजारमा एउटा खेल मैदान छ, त्यो विस्तार गर्न मिल्दैन, तर आलेखर्क खेल मैदान विस्तारमा समस्या छैन, बहुउद्देश्यी रङ्गशाला बनाउन पर्याप्त जग्गा छ, नपुगे सामुदायिक वन र सार्जजनिक जग्गा विस्तार गर्न सकिन्छ’, थापाले भने, ‘स्थानीयकै रु १० लाखमा डिपिआर बनाएर नगरपालिकामा पेस गरेका छौँ, जसमा रु पाँच करोड ८८ लाखमा आधारभूत रङ्गशाला बन्ने उल्लेख छ, पालिकाले प्रदेश र केन्द्रमा बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’

खेलमैदान विस्तारमा हालसम्म रु ६२ लाख खर्च भइसकेको छ । रङ्गशाल निर्माण गर्न स्थानीयस्तरबाट सहयोग जुटेको थापाले बताए। जग्गा व्यवस्थापन तथा खेल मैदान विस्तार गर्न हाल सम्म बागलुङ नगरपालिकाले रु. १४ लाख र गण्डकी प्रदेश सरकारको रु २५ लाख बजेट कार्यान्वयन भइसकेको र स्थानीयस्तरबाट रु २३ लाख सङ्कलन गरेर खेल मैदान विस्तार गरिएको हो । 

दश वर्षअघि सानो भलिबल मैदान स्थानीयको पहलमा विस्तार गरेर फुटबल मैदान गराइएको बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले बताए । 

‘स्थानीयको सहयोगमा खेल मैदान विस्तार भएको थियो, पछि बागलुङ नगरपालिका र गण्डकी प्रदेश सरकारको बजेटमा झनै ठूलो बनाइयो’, थापाले भने, ‘डिपिआर नहुँदा बजेट नआउने भयो, पछि एक पालिका एक खेल मैदानअन्तर्गत आलेखर्क खेल मैदान सर्वसम्मतिमा नगरकार्यपलिकाबाट सिफारिस गरिएको हो, बागलुङ बजार नजिकै रहेकाले खेल गतिविधि गर्न सहज छ, बागलुङको ठूलो खेल मैदान बाङ्गेचौरमा ठूला खेल प्रतियोगिता आयोजना हुँदा केही खेल यहाँ ल्याएर खेलाउन सकिन्छ भन्नेमा छौँ ।’

बाङ्गेचौर खेल मैदानले सिङ्गो जिल्लालाई थेग्नसक्ने अवस्था छैन । त्यसैले, विकल्पका लागि आलेखर्क खेल मैदानलाई एक पालिका एक खेल मैदान कार्यक्रमअन्तर्गत अगाडि बढाइएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताए।