close

एउटै गाउँपालिकामा दर्जनभन्दा बढी फुटबल मैदान

एउटै गाउँपालिकामा दर्जनभन्दा बढी फुटबल मैदान

Trulli
ADVERTISEMENT

धनकुटा- चौबिसे गाउँपालिकाले खेलकुद र कृषिलाई समेटेर ‘खेलकुद पर्यटन’को सुरुवात गर्ने भएको छ । आठ वडा रहेको यस गाउँपालिकामा प्रत्येक वडामा सात/एघार क्षेत्रफलका एकदेखि तीनवटासम्म फुटबल मैदान छन् । खेल क्षेत्र र कृषिका माध्यमबाट पालिकाको प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय रारा फुटबल क्लबसँगको समन्वयमा खेलकुद पर्यटनको विकास थालिएको पालिकाले जनाएको छ ।

पालिकामा रहेका एक दर्जनभन्दा बढी खेलमैदान निर्माणका लागि १० लाखदेखि २५ लाखसम्म खर्च गरिएको पालिका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए । उनका अनुसार जिल्लाकै धेरै फुटबल खेलाडी भएको पालिका चौबिसे हो । यस क्षेत्रमा राष्ट्रियस्तरको रारा गोल्डकपसहित वर्षमा ५० देखि ६० फुटबल सञ्चालन हुँदै आएको राजारानी (रारा) फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए । उनका अनुसार यहाँ भलिबल, ब्याटमिन्टन तथा पुरानो पारम्परिक ढुङ्गाको छेलो हान्ने (सटपुट) लगायत खेलहरू हुने गरेका छन् । स्थानीय चाडपर्व, विभिन्न मेला तथा महोत्सवका साथै राष्ट्रिय चाडपर्वका अवसरमा खेल सञ्चालन हुने गरेको उनले जानकारी दिए । 

खेलप्रतिको आकर्षणकै कारण हाल धनकुटाबाट नेपालको ‘एकेडेमी’, ‘ए डिभिजन’ र अन्तरराष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने आठजना खेलाडी चौबिसेबाट रहेका धनकुटा फुटबल सङ्घले जनाएको छ । धनकुटा फुटबल सङ्घका अध्यक्षसमेत रहेका रारा क्लबका अध्यक्ष चेम्जोङले जिल्लाबाट गोलरक्षक किरण चेम्जोङ, खेलाडीहरू बुद्ध चेम्जोङ, सुजल श्रेष्ठ, अनुप सुब्बा, पदम भट्टराई, सिर्जना चेम्जोङ र राजु योगी नेपालका ‘ए’ डिभिजन क्लबबाट खेल्ने खेलाडी रहेका जानकारी दिए । “गोलरक्षक चेम्जोङले नेपालका सबै ‘ए’ डिभिजन खेलिसकेर हाल भारतको इन्डियन सुपर लिगमा खेलिरहेका छन् । बुद्ध चेम्जोङ मच्छिन्द्र क्लबको प्रतिनिधित्व गर्दै हाल फ्रेन्च क्लबमा खेलिरहेका छन् । सिर्जना चेम्जोङ एपिएफबाट खेल्दै हाल अस्ट्रेलियाको एक फुटबल क्लबबाट खेलिरहेका छन्”, उनले भने । 

सुजल श्रेष्ठले अष्ट्रेलियाको एक फुटबल क्लबबाट, अनुप सुब्बा पुलिस क्लब, पदम भट्टराई खुमलटार फुटबल क्लब र राजु योगी एपिएफबाट खेलिरहेका अध्यक्ष चेम्जोङले बताए । उनका अनुसार एन्फा रेफ्रीका रुपमा कार्यरत मिलन लिम्बू, तुफान चेम्जोङ, रुसी चेम्जोङ र मयस मल्लिकले धनकुटाबाट राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गरिरहेका छन् । 

चालु आर्थिक वर्ष २०८०/८१ मा ५३ करोड ९० लाख ५७ हजार कूल बजेट रहेकामा १६ करोड ३२ लाख ३६ हजार पुँजीगत बजेटबाट खेलकुद क्षेत्रका लागि ५७ लाख २० हजार विनियोजन गरेको पालिकाका अध्यक्ष लिम्बूले जानकारी दिए ।