close

अस्पताल भवन भद्रगोल बनाएपछि 'ठेकेदार हराएको सूचना'

अस्पताल भवन भद्रगोल बनाएपछि 'ठेकेदार हराएको सूचना'

Trulli
ADVERTISEMENT

म्याग्दी । ठेकेदारले बेनी नगरपालिकास्थित बेनी अस्पतालको ५० शैया क्षमताको भवन अलपत्र पारेपछि ठाउँ-ठाउँमा ठेकेदार हराएको सूचना टाँसिएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सञ्चालक रहेको महादेव खिम्तीले गल्वा–रफिनासँगको साझेदारीमा अस्पताल भवनको ठेक्का लिएको हो ।

भवन बनिसक्नुपर्ने समयमा आधा मात्रै प्रगति भएको भन्दै  नेकपा एमाले निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय यूवा संघले पहिलो रचणको विरोधस्वरुप पोल र भित्तामा ठेकेदार हराएको सूचना टाँसेका हुन् । उक्त सूचना सामाजिक सञ्जालमा समेत भाइरल भएको छ ।

जिल्लाको एकमात्र अस्पतालको भवन अलपत्र पारेर सम्पर्कविहीन भएपछि अध्यक्ष सिंहको तस्बिर र मोवाइल नम्बरसहितको सूचना टाँसिएको अनेरास्ववियूका केकेन्द्रीय सदस्य सुवास विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘अस्पताल अलपत्र पारेर ठेकेदार फरार भएका छन्, अब आन्दोलनका अन्य कार्यक्रमहरु पनि सार्वजनिक गछौं, अस्पतालको भवन अलपत्र पार्नेलाई छोड्दैनौं ।’

भवन अलपत्र भएको विषयलाई लिएर अस्पताल व्यवस्थापन समिति र चिकित्सक समेत आक्रोशित छन् । 

ठेकेदार सिंहले रु २४ करोड ४ लाख २९ हजार ८ सय ६९ लागत अनुमान गरिएको भवन रु १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का लिएका थिए ।

ठेक्का सम्झौतामा '२०७६ मंसिर २० गते भवन निर्माण सक्ने' उल्लेख भए पनि अहिलेसम्म करिब ५० प्रतिशतको हाराहारीमा मात्र काम भएको छ ।

अस्पतालले हाल अस्थायी संरचनाबाट बिरामीलाई सेवा दिइरहेको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले जानकारी दिए ।