close

सडक नबनेपछि नगरपालिका पुगे स्थानीय

सडक नबनेपछि नगरपालिका पुगे स्थानीय

Trulli
ADVERTISEMENT

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले सडक कालोपत्रेको काम तत्काल सुचारु गराउन माग गरेका छन् ।

स्थानीयले दिक्तेल–आहाले १०.९७४ किलोमिटर दूरीको सडक कालोपत्रेको काम तत्काल सुचारु गराउन माग गरेका हुन् ।

हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाईमा स्थानीय समूहले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु गर्न/गराउन माग गरेका हुन् ।

२०७५ सालमा १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागे पनि ठेकेदारले कालोपत्रेको काम अलपत्र परेपछि स्थानीय नागरिक बिरोधमा उत्रिएका हुन् । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले कालोपत्रेको काम अलपत्र पारेको भन्दै स्थानीयले आगामी भदौ २६ गतेभित्र काम सुचारु गराउनका लागि ध्यानाकर्षण गराएका छन् ।

स्थानीय सरकार, प्रशासन लगायतका निकायले आँखा चिम्लिरहने हो भने सडक कालोपत्रेको काम पुरा हुने अवस्था नदेखिएको हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिका अध्यक्ष किसनकुमार राईले बताए ।

सडक कालोपत्रेको काम अलपत्र छाड्दा दिक्तेलबजारको व्यापार व्यवसायमा असर परेको, कालिका भगवती दर्शन गर्न आवज जावत गर्ने दर्शनार्थीलाई कठिनाई भएको ज्ञापन–पत्रमा उल्लेख छ ।

तोकिएको समयभित्र कालोपत्रेको काम सुचारु नभए दोश्रो चरणको आन्दोलन सुरु गरिने स्थानीय अगुवा मनोज राईले बताए ।