close

हुम्लीले एक महिनादेखि भन्न पाएनन् 'हेल्लाे' !

हुम्लीले एक महिनादेखि भन्न पाएनन् 'हेल्लाे' !

Trulli
ADVERTISEMENT

हुम्ला– जिल्लाकाे तल्लो क्षेत्रका ४  गाउँपालिकामा १ महिनादेखि टेलिफोन सेवा नहुँदा स्थानीय सञ्चार सम्पर्कविहीन भएका छन् । हुम्लाको दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली, सर्केगाड गाउँपालिकासहित छिमेकी मुगुको सोरु गाउँपालिकामा समेत १ महिनादेखि टेलिफोन सेवाले काम गर्न छाडेको स्थानीयको गुनासो छ ।  

 

नेपाल टेलिकमले हुम्लाका ७ वटै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटता कारण टेलिफोन सेवा प्रभावकारी नभएको हो । ताजाकोट गाउँपालिकाको चिहीमा रहेको टावरले काम नगरेपछि यस क्षेत्रमा फोन सम्पर्क विच्छेद भएको छ ।

 

हुम्लाको अदानचुली गाउँपालिकामा रहेको श्रीनगर र कालिकामा रहेका दुवै टावर २० असोजबाट सञ्चालनमा आउन सकेका छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले पनि काम गरेको छैन ।

 

लकडाउनको समय आउजाउका लागि सिफारिसलगायतका आवश्यक कागजात मिलाएर मात्र आउनुपर्ने भएकाले बीच बाटोमा सयौं मानिसले ४ दिनसम्म कुर्नुपर्ने अवस्था छ ।

 

वल्र्डलिंक कम्युनिकेसनले विस्तार गरेको गाउँपालिका र वडा कार्यालयमा रहेको इन्टरनेट सेवाले सानोतिनो समस्या समाधान भएको अदानचुली गाउँपालिका वडा–२ का धर्मराज बोगटीले बताए । 

 

चाडवाडका बेला पनि १ महिनादेखि टेलिफोन नभएपछि सवारी सीमा पास, आपतकालीन खाद्यान्न ढुवानी पास, आफन्तजनसँग कुराकानीलगायत गर्न धेरै दिन कुर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । 

 

अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा पटक–पटक टेलिकमको केन्द्रीय कार्यालय काठमाडौं गएर मर्मतका लागि ताकेता र धेरै पटक पत्र पठाए तर पनि मुगुको सोरुकोटमा ठूलो क्षमताको टावर राख्न लागिएकाले सानातिना टावरमा नलाग्न भनेर पन्छिएको बताउँछन् । ‘टावर राख्ने भनेको ३ वर्ष पूरा भयो । यहाँको समस्या कहिल्यै समाधान भएन’, फडेरा भन्छन् ।

 

१ महिनादेखि टेलिकमको सेवा नहुँदा कार्यकक्षमा पनि फोनले काम नगरेपछि हरेक दिन फोन गर्नकै लागि अग्लो ठाउँ जानुपर्ने बाध्यता रहेको सुनाउँछन् । वल्र्डलिंकको इन्टरनेट म्यासेन्जरबाहेक अरु सेवा अवरुद्ध रहेको उनले बताए ।

 

टेलिकमका टावर बिग्रेको १ महिना पुग्यो । सरोकारवाला निकायले ध्यान नदिँदा गाउँपालिकाको प्रशासनिक कामदेखि सर्वसाधारणसम्मले हैरानी बेहोर्नु परेको उनले जानकारी दिए । २१ असोजमा टेलिकमकै प्रतिनिधि राम खातीसहितको ४ जनाको टोली आएर ४ दिन लगाएर मर्मत गरेको थियो । मर्मत गरेपछि केही समय टावरले काम गरे पनि पछि बिग्रिएको हो ।

 

टावर मर्मतमा आएको टोलीले टावरको क्षमता अपग्रेड गरे पनि अहिले कामै गर्न छाडेको स्थानीय बताउँछन् । यसबारे टेलिकमका प्राविधिक अधिकृत कृष्ण भट्टराईलाई सोध्दा केही दिनअघि मात्र खातीसहितको टोली आएर बनाएको सुनाउँछन् । त्यसपछि पुनः टावरमा आएको गडबढीबारे केही जानकारी नभएकाले बुझेर मात्रै जवाफ दिन सकिने उनको भनाइ छ ।

 

मुगुको सोरुस्थित भीई र सोरुकोटमा रहेका २ वटै टावर पूर्ण रुपमा अवरुद्ध हुँदा सोरु गाउँपालिकाका सबै नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।