close

जनप्रतिनिधिको विवादले सोरुमा बजेट अनिश्चित 

जनप्रतिनिधिको विवादले सोरुमा बजेट अनिश्चित 

Trulli
ADVERTISEMENT

मुगु–मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाले हालसम्म पनि बजेट सार्वजनिक गर्न सकेको छैन । चालू आर्थिक वर्षको बजेट पेस नहुँदा सेवा प्रवाह र विकास निर्माणका काममा अन्योलमा भएको छ ।

 

गत २० असारमा आठौँ गाउँसभा उद्घाटनका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि हालसम्म पनि बजेट पेस हुन नसकेको हो । 

 

विवादका कारण स्थगित गाउँसभा कहिले बस्ने हो त्यसबारे अझै निश्चित छैन । बजेट बाँडफाँट नहुँदा वडादेखि गाउँपालिका स्तरमा छनोट भएका दर्जनौँ आयोजनाले गति लिन सकेका छैनन् ।

 

असार मसान्तपछि जनप्रतिनिधि र केही कर्मचारी नहुँदा कार्यालयविहीन भएका छन् भने केही कर्मचारी जिल्लाबाहिर छन् ।स्थानीय तह सञ्चालन ऐनअनुसार १५ असारभित्र गाउँसभा सञ्चालन गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, सोरुले तोकिएकै मितिमा गाउँसभा सञ्चालन नगर्दा बजेट पेस गर्ने मिति टुंगो लाग्न सकेको छैन । 

 

बजेट पेस नहुँदा वडा स्तरमा छनोट भएका योजना अघि बढाउन समस्या भएको वडा नम्बर २ का वडाध्यक्ष ऐनबहादुर शाहीले बताए । 

 

‘विवादका कारण बजेट बाँडफाँट नहुँदा कुनै पनि योजनाको काम सुरु भएको छैन । कर्मचारीले जेठदेखि तलब पाएका छैनन् । बजेट पेस नहुँदा सबैजसो विषयगत शाखा र वडा कार्यालय कामविहीन बनेका छन्’, वडाध्यक्ष शाहीले भने । 

 

मुगुको मुगुमकार्मारोङ, खत्याड गाउँपालिका र छायानाथ रारा नगरपालिकाले भने बजेट पास गरी योजना सम्झौताको काम सुरु गरेका छन् ।

 

विभिन्न कारणले बजेट बाँडफाँटमा ढिलाइ भएको अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘केही जनप्रतिनिधि जिल्लाबाहिर हुनुहुन्छ’, अध्यक्ष शाहीले भने, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँसभा आयोजना गरी बजेट पेस गर्छौं ।’

 

सोरुमा ४ वर्षे अवधिमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । राजनीतिक खिचातानीका कारण गाउँपालिकामा हरेक वर्ष प्रशासकीय अधिकृत फेरिँदा प्रशासनिक र विकास निर्माणका योजना प्रभावित हुँदै आएका छन् ।